संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण चुस्त ढंगले काम गर्ने नसकेको बताएका छन्।
कांग्रेस–एमालेबीच नयाँ सत्तासमिकरणका लागि समझदारी भएसँगै उनले सो प्रतिक्रिया दिएका हुन्। विहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताएका हुन्।
‘तापनि कर्मचारीहरुको रुपान्तरणका लागि संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलको क्रममा छ। हामीले सोचेका थियौं निजामती सेवा ऐनलाई बढी महत्व दिएर यसलाई चाँडो भन्दा चाँडो निकास दिने भनेर मैले पनि राज्य व्यवस्था समितिका सभापतिसँग अनुरोध गरेको थिएँ,’ उनले भने।
मन्त्री जोशीले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए। कर्मचारी सरूवा व्यवस्थित गर्नका लागि निजामति सेवा ऐनलाई पास गर्नुपर्ने उनले बताए।
‘राजनीतिक दलका प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर यो ऐन नआउँदा अहिले पनि प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा पनि समस्या छ,’ उनले भने। एजेन्सी
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    