राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा मध्याह्न सवा १२ बजे बैठक बस्नेछ। बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। संसद सचिवालयका अनुसार बिहीबार ११ वटा मन्त्रीले जवाफ दिने कार्यसूची छ।
वन मन्त्रालय, महिला तथा बालबालिका, खेलकुद, सहरी विकास, उद्योग, कृषि, भौतिक पूर्वाधार, संघीय मामिला, पर्यटन, स्वास्थ्य र परराष्ट्र मन्त्रीले मन्त्रालय छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिनेछन्।
यद्यपि कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएसँगै बुधबार एमालेका आठ मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।
एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बुधबार राजीनामा दिएका हुन्।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    