काठमाडौं- नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ।
कांग्रेस-एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री दाहालले संसदको सामना गरेर मात्रैअघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको मुख्य दल कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो।
बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो बैठकले दुई ठूला दल र अन्य दलहरुले पनि नयाँ सत्ता गठबन्धनको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
त्यसैगरी बैठकले नयाँ सत्ता समीकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ। बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलहरुसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताए।
त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको कांग्रेसले जनाएको छ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    