उपप्रधान मन्त्री एवम् गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले भन्दै आएका दुई विषयमाथि प्रश्न गरेका छन्।
आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले नेताहरूले भन्दै आएका 'मुलुक जटिल अवस्थामा छ' र 'लोकतन्त्रमाथि खतरा छ भन्ने' भाष्यमाथि प्रश्न गरेका हुन्।
उनले २००७ सालदेखि नेताहरू मुलुक जटिल अवस्थामा रहेको बताउँदै आएको र वृद्धवृद्धाहरूले जीन्दगीभर यही सुन्दै आएको बताए।
'हामीले प्राप्त गर्नुपर्ने सबैचीज प्राप्त गरिसक्यौं है भन्नुहुन्छ। प्राप्त गर्नुपर्ने कुरा सबै प्राप्त गरिसक्दा आज पनि मुलुक बडो विषम परिस्थितिमा छ।लोकतन्त्रतलाई खतरा छ भन्दै आउनुभएको छ,' लामिछानेले भने। 
उनले मुलुकलाई अप्ठ्यारो परिस्थितिमा पुर्याउने को हो भनेर पनि प्रश्न गरे। 
'मुलुक सँधै खतरामा हुने रहेछ। परिस्थिति कहिल्यै अनुकूल हुने रहेनछ। सँधै अप्ठ्यारो नेपाली जनताहरूले पारेका हुन्? गरिब मजदुर किसानहरू, कसले अप्ठ्यारो पार्यो,' उनले भने।
लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक भएपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए। तर लोकतन्त्रमा खतरा आए जोगाइदिने जनता रहेको पनि उनले बताए।
'लोकतन्त्रलाई खतरा भए जोगाइदिने जनता छन् कार्यकर्ता छन् । नेताहरूले चिन्ता गर्न पर्दैन,' उनले भने।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    