आइतबार, भदौ २३ गते २०८१

नेपालका झोलुगे पुलको आयु र अवस्था

नेपालका झोलुगे पुलको आयु र अवस्था

अखबार दैनिक
सोमबार, असार ४ २०८१
  • नेपालका झोलुगे पुलको आयु र अवस्था

    अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेडाँडा र दैलेखको आठबिस नगरपालिका–४ जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलको लटठा चुँडिएर लच्किँदा खाद्यान्नको भारी बोकेका १३ वटा खच्चडहरु गत आइतबार करिब पाँच घण्टा फँसे । ती मध्ये धेरैको जीवितै उद्धार भयो भने दुई वटा खच्चडको ज्यान गयो ।

    images

    अछामको तामकोटबाट दैलेखको खिर्कीज्युला बजारतर्फ जाँदै गर्दा पुलमा फसेका १३ मध्ये ११ वटा खच्चरलाई जीवितै उद्धार गरिएको थियो । केहीलाई पुलको जाली काटेर कर्णाली नदीमा खासालेर उद्धार गरेको दृष्य निकै दर्दनाक र कहालीलाग्दो थियो । खाद्यान्न ढुवानी गर्न अछामको कालेडाँडाबाट दैलेखको खिड्कीज्युला जाने क्रममा एकतर्फको लट्ठा चुँडिदा स्थानीय जीवन रोकामगर, नवीन रोकामगर, र राजेन्द्र बोहराका १३ खच्चड पुलमा फसेका थिए । ती खच्चडको अछाम तथा दैलेख जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर संयुक्त रुपमा उद्धार गरेका थिए ।


    देशका बिभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुङ्गे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप भएको यो घटनाले पुष्टि गर्छ । सरकार र स्थानीय जनमतदानबाट निर्माण भएका
    पुल, कुलो, पाटी, पौवा, मठ, मन्दीर, धारा, पँधेरा, इनार, सडक र सरकारी भवनको बेलैमा मर्मतसम्भार नगर्दा यस्ता घटना पटक पटक दोहोरिने गरेका छन् । मानवनिर्मित जुनसुकै भौतिक सामाग्रीको समय गुज्रने मिति हुन्छ । तर अधिकार सम्पन्न भनिएको

    स्थानीय तहको सरकारलेसमेत यस्ता सघन विषयमा चासो नदिँदा वर्षेनी सयौँ तथा हजारौँको संख्यामा जनधनको क्षती हुने गरेको छ । प्रत्येक ३० मिनेट पैदल यात्राको दुरीमा एउटा झोलुङ्गे पुल बनाउने सरकारको लक्ष्यअनुसार देशभरि १० हजार चार सय नौ वटा पुल निर्माण सम्पन्न भइसकेको स्थानीय पुर्वाधार विभाग ९डोलीडार० ले जनाएको छ । निर्माणाधीन पुलको संख्या २३ सय ६४ रहेको तथ्यांक विभागसँग छ । भौगोलिक हिसाबले कर्णाली र सुदुरपश्चिम प्रदेशमा धेरै झोलुङ्गे पुल माग र निर्माण हुनुपर्ने भएतापनि निर्माणको अवस्था हेर्दा सबैभन्दा बढी कोसी प्रदेशमा देखिन्छ । नेपालमा झोलुङ्गे पुलको जिल्ला भनेर बागलुङलाई चिनिन्छ भने यहाँ विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

    जुन पुलले बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौरदेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । बागलुङमा ४४५ भन्दा बढि झोलुङ्गे पुलहरु रहेका छन् । स्थानीय पुर्वाधार विभागले हालसम्म भत्किएका तथा प्रयोग गर्नै नमिल्ने अवस्थाका झोलुङ्गे पुलबारे अध्ययन नगरिएको बताएको छ । नेपालमा थुप्रै खोलानाला र नदी छन् । यस्तो अवस्थामा सर्वसाधारणको पैदल यात्रा सुरक्षित बनाउन झोलुङ्गे पुलको महत्व छ । तर नेपालमा कति झोलुङ्गे पुल वा मान्छे हिँड्ने पुल चाहिन्छ र कुन पुलको अवस्था कस्तो छ भन्ने विषयमा अझै अध्ययन भएको पाइँदैन । एउटा झोलुङ्गे पुलको आयु कम्तिमा पनि १०० वर्ष हुने सहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग अन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनीयर प्रवेश रेग्मीको भनाई छ । तर समय समयमा मर्मतसम्भार नभए ती पुल जति वेला पनि भत्कन सक्छन् ।

    त्यसैले झोलुङ्गे पुलको वेला वेला अनुगमन र चेकजाँच गर्नुपर्छ । नेपालमा व्यवस्थित तथा योजनाबद्ध ढङ्गले २०२१ सालदेखि झोलुङ्गे पुल निर्माण हुन थालेको हामी पाउछौँ । पुलको आयुलाई लिएर भन्ने हो भने ती पुल अझै ४०–५० वर्षसम्म चल्छन् । तर तिनको बेला बेलामा मर्मत सम्भार भने जरुरी छ । होइन भने अछामको


    जस्तो घटना देशका अन्य जिल्लामा पनि नहोला भन्न सकिँदैन । यसप्रति तीनवटै तहका सरकार गम्भीर बन्नुपर्ने अवस्था आएको छ । देशमा संघीयता आउनुपुर्व झोलुङ्गे पुल निर्माण झोलुङ्गे पुल रणनीति, २०६१ का अनुसार हुन्थ्यो । जिल्ला विकास समितिबाट तलब दिएर प्रत्येक पुलमा प्राविधिक ज्ञान भएका एक जना हेरालु राखिन्थे । उनले पुलको हेरचाह गर्थे । पुलमा आएको प्राविधिक समस्या समाधान हेरालुले गर्न नसके जिल्ला विकास समितिले गर्थ्यो । तर‚ अहिले देशभरीकै झोलुङ्गे पुलमा हेरालु छैनन् । लठ्ठा लच्किने र नटहरु खुकुलो भएको देखेपछि मात्र मर्मत हुने गरेको छ । नियमित रुपमा यस्ता काम संघीय गर्ने हो भने र जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई दिई नीति बनाउने हो भने झोलुङ्गे पुलहरुको आयु लम्बिने थियो भने मानिस र जानवरले पनि अकालमा मृत्युवरण गर्नुपर्ने थिएन ।

    झोलुङ्गे पुलका प्रकार  

    नेपालमा लम्बाइ अनुसार झोलुङ्गे पुललाई सर्ट स्पान (छोटो झोलुङ्गे पुल) र लङ स्पान (लामो झोलङ्गे पल) भनी वर्गीकरण गरिएको छ । १२० मिटरभन्दा छोटोलाई सर्ट स्पान र १२० मिटरभन्दा लामोलाई लङ स्पान भनिन्छ ।

    यस्तै‚ प्रकार अनुसार सस्पेन्सन डी टाइप, सस्पेन्सन एन टाइप र स्टील ट्रस भनी विभाजन गरिएका छन् । डी टाइप सामान्यतः पहाडी भेग र समथर भुभागमा एन टाइपको झोलुङ्गे पुल निर्माण गरिन्छन् । धेरै लामो दुरी भएको नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिन्छ । पुलको सुरक्षाले पुलको निश्चित क्षमता मात्र धान्न सक्छ । त्यसैले पुलमा प्रवेश गर्नु अघि त्यस्तो सुचना हेर्न आवश्यक हुन्छ । विशेष गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका पुलमा भीड हुने भएकाले सर्वसाधारण आफैं सजग हुनुपर्छ । अहिले पनि नेपालमै पुरानै ढाँचाका झोलुङ्गे पुल निर्माण भइरहेका छन् । पहिले नदी तर्ने उद्देश्यले पुल बनाइए पनि अहिले दुरी घटाउने‚ पर्यटकीय प्रयोजनका लागि पनि बनाइन्छ । ती पुलमा मोटरसाइकल पनि कुदाउने गरिन्छ । यसले पनि जोखिम बढ्छ ।

    -लेखक : फणीन्द्र फुयाल ज्वाला

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ