घोराही । मगर जातिको मुख्य पर्व भूमेको रौनक दाङमा पनि सुरु भएको छ । पर्व यही असार १ गतेदेखि दाङको घोराहीमा सुरु भएको हो । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन छ । सोही भूमि देवताको पूजा गर्ने प्रचलनलाई मगर जातिले आफ्नो मुख्य चाडका रुपमा मान्दै पनि आइरहेको पाइन्छ ।
दाङमा यो पर्व विधिवत् रुपमा विसं २०४६ बाट मनाउन थालिएको नेपाल मगर सङ्घ दाङले जनाएको छ । विशेषगरी रोल्पा रुकुमबाट बसाइँसराइ गरेर आएसँगै जिल्लामा यस समुदायको बाहुल्यता पनि बढ्दै जान थालेको छ । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् ।
उनीहरुले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रुपमा लिन्छन् । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि अर्थात् जमिन नै जीवन दाता भएको मान्यता राख्ने मगर समुदायले भूमिलाई देवताका रुपमा मान्दै आइरहेको बताउने गरेका छन् ।
भूमे पर्वका अवसरमा नेपाल मगर सङ्घ र तकसेरा समाजले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रुपमा मनाउन थालेको छ । घोराहीको नयाँ बसपार्कस्थित सेवार खोला छेउमा रहेको सङ्घको कार्यालय परिसरमा भूमे पर्वको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । भूमे महोत्सवमा युवायुवती, केटाकेटा, वृद्धवृद्धा र पुरुष आफ्नो मगर वेशभूषामा सजिएर नाच्ने गरेका छन् ।
नेपाल मगर सङ्घका केन्द्रीय सदस्य शीतलाल पुन मगरले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताए । यो पर्व मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा मगरहरुको मुख्य चाड भएको उनले बताए । दाङमा विशेषगरी रुकुम, रोल्पाबाट बसाइँ सरी दाङ आएका मगर जातिहरुले यो पर्व मनाउने गरेको उनको भनाइ छ ।
“पृथ्वीलाई साक्षात भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन्”, उनले भने, “यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।” भूमे पर्व १८ मगरातका मगरलगायत सबै मगरको मुख्य चाड भएको उनले बताए । मगर जाति जीवनयापनका लागि परापूर्वकालदेखि नै घरबाहिर प्राकृतिक क्षेत्रमा समय बिताउने हुँदा सोही समय बेतित गर्ने प्रकृतिको सम्मानपूर्वक हरेक वर्ष भूमे पर्व मनाउने गरेको उनले बताए ।
यस्तै, नेपाल मगर सङ्घ दाङका पूर्वअध्यक्ष खलुप्रसाद पुन मगरले प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ मगरहरुले प्रकृतिको पूजा गर्न थालिएको र त्यही पूजालाई भूमे पर्व भनिएको बताए । यो पूजा खासगरी मगर जातिको थातथलो भएको ठाउँमा मगर जातिले विभिन्न रुपमा मनाउने गरेका छन् ।
उनले भने, “अधिकांश ठाउँमा लोप हुने अवस्थामा पुगेपछि यसको जगेर्नाका लागि आफूहरुले दाङमा पनि भूमे पर्वलाई महोत्सवका रुपमा मनाउन थालेको हौँ, आफूहरुको रीतिरिवाज, परम्परालाई जोगाइराख्नका लागि सबै लाग्नुपर्छ ।” यस पर्वलाई मगर जातिहरुले नयाँ कामको सुरुआत गर्ने दिन र वर्षभरिको कामको योजना बनाउने दिनका रुपमा पनि लिने गर्दछन् ।
-रासस