काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गरेका छन्। मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौं उपत्यकाबासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनको भनाइ थियो।
शुक्रबार प्रतिनिधिसभा बैठकमा वन तथा वातावरण मन्त्रालय,खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने पनि बताए।
उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। देशभर सुक्खा बढिरहेको उल्लेख गर्दै सांसद सुवालले त्यस्ता ठाउँहरुमा पानी पुरणभरणको बन्दोबस्त गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए।
उनले भने, ‘मेलम्चीको पानी अव काठमाडौंलाई पुग्दैन। याङ्ग्री र लार्केखोलाको पानी ल्याएर पनि पुग्ने छैन। यो ल्याउने कहिले होरु २५ वर्ष लाग्यो मेलम्ची ल्याउन। निस्सासिएर काठमाडौंका मान्छे खानेपानीको अभावमा भकाभक मर्ने दिन आउँदै छ। हामीले सुनिराखेका छौं–अवदेखि मेलम्चीको पानी रोक्दैन भनेर सुनेको यही संसदमा हो। फेरि असारबाट पानी आउँदैन भन्ने आएको छ। सांसद सुवालले देशभर आर्सेनिकमुक्त खानेपानीको व्यवस्था गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    