काठमाडौं । सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिने भन्दा धेरैलाई समस्या भएको बताए ।
यसो गर्दा बिरामीहरू, बृद्धबृद्धाहरु आफैं जानुपर्ने अवस्थाले समस्या भएको उनले बताए । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा पनि कतिपय ठाउँमा समस्या भएको उनले बताए । पूर्वतयारी गरेर अर्का वर्षदेखि लागू हुने गरी तत्कालका लागि यो कार्य रोक्न उनको माग छ ।
एमालेकै सांससद विद्या भट्टराईले आफैं उपस्थित हुनुपर्ने भएका कारण सामाजिक सुरक्षा भत्ता लिन अक्सिजन सिलिण्डर लिएर वडा कार्यालय पुग्नु परेको देखिएको बताइन् । सरकारले प्रयाप्त छलफल गरेर कुनै पनि योजना लागू गर्नुपर्ने उनको सुझाव छ ।