बिहीबार , मंसिर ६ गते २०८१

मौलाउँदो नातावाद, कृपावाद र चाकडीवाद : फणीन्द्र फुयाल ज्वाला

मौलाउँदो नातावाद, कृपावाद र चाकडीवाद : फणीन्द्र फुयाल ज्वाला

बिहीबार , जेठ ३ २०८१
  • मौलाउँदो नातावाद, कृपावाद र चाकडीवाद : फणीन्द्र फुयाल ज्वाला

    काठमाडौं । देश दशकौँ लामो संघर्ष, बलिदान र क्रान्तिपछि लोकतन्त्र गणतन्त्र   हुँदै समाजवाद उन्मुद भइरहँदा समेत विकासको बाधकका रुपमा रहेको नातावाद, कृपावाद, चकडीवाद र भेगीयतावाद भने अझै अन्त्य हुने सकेको छैन । 

    images

    गणतन्त्रपछि त झन देशमा पञ्चायतकाल भन्दा पनि डुङडुङी गन्हाउनेगरी र ह्वाङ्गै–छ्याङ्गै देखिनेगरी नातवाद, भनसुनवाद, र ‘राम्रो मान्छे’ भन्दा पनि ‘हाम्रो मान्छे’ चुनिने चलन चुलिएको छ । स्वच्छ र स्वस्थ प्रतिस्पर्धाबाट कुनै पनि काम हुन सकिरहेका छैनन् । सरकारी अड्डाहरु यो महारोगले ग्रसित छन् । अस्पतालमाऔषधि उपचारदेखि, रोजगारीको अवस्थासम्म, विद्यालयदेखि मसानघाटसम्म नातावाद, भनसुवाद, पद र पावरवालाहरुको जंगबहादुर शैलीमा हातै कानुन, मुखै कानुन जस्तो बनेको छ ।

    दलका अन्धभक्त, झोले र आसेपासे, दलाली र ठेकेदारी गरेर पेट पाल्न पल्किएकाहरु आलोनात्मक चेतना गुमाएर पशुसमान भएका छन् । बौद्धिक, तार्किक र अध्यनशील अनुसन्धाताहरुको देशमा कुनै कदर छैन ।


    सरकारका मन्त्री, पार्टीका नेता, सरकारी उच्च ओहदामा रहेका अधिकाँश कर्मचारीहरुमा यो रोग वर्षौँदेखि गडेर बसेको छ । साँझ अवेरसम्म र बिहान सख्खारै मालिकहरुका पाउ मुसार्न हरेक राजनीतिक दल र सत्ताधारी दलका आसेपासे धुपौरे’हरु कोठा–चोटामा पुग्ने गरेका छन् । उनीहरु नै ‘देश बिग्रियो’ भनेर ठुला आर्दका भाषण छाँट्छन् । उनीहरु नै समाजवादका ठुला नारा लगाएर अरुलाई सिकायत गर्छन् । उल्टै अरुलाई बिग्रियौ तिमीहरु’ पो भनिरहेका छन् ! यो प्रबृत्ति रोक्नका लागि हरेक पार्टीका शीर्षस्थ नेतृत्व, उच्च ओहदामा रहेका सरकारी कर्मचारी, मन्त्रीहरु, पालिकाका प्रमुखहरुले छातिमा हात राखेर आफैँसँग दृढ संकल्प गर्नै पर्छ । आफुभित्रै असल आचरण अनुशरण गर्ने ईच्छाशक्ति हुनुपर्छ । 

    आफैँलाई स्वनियमन गर्न जरुरी छ । काम बिगार्दा पनि ‘हजुर महान्’ र काम सपार्दा पनि ‘हजुर भगवान, मेरो पिता, मेरो परमात्मा, मेरो बिधाता’ भन्ने धनुष्टङुकार शैलीकालाई चिनेर आफ्नो छेउमै ढिम्किन नदिने र त्यस्ता व्यक्ति प्रवेशका लागि सधैँका लागि गेट बन्द गर्ने हो भने उनीहरुको मनोवल बिस्तारै गिर्दै जान्छ र नेताको भजनमण्डलीबाट ऊ बिदा हुन बाध्य हुन्छ ।

    आफ्नो नातागोताका मन्छेलाई जागिर लगाउने, पद पँजनी गर्ने, सरुवा बढुवा मिलाउने, पालो तथा मर्यादाक्रम मिचेर टेबल मुनिबाट आफ्नो फाइल अघि बढाउन खोज्नेहरुलाई सबैले निरुत्साहित गर्ने हो भने भनसुनप्रथा, नतावाद, भेगीयतावाद आफैँ हट्दै जाने थियो । तर यो प्रथा जुन जोगी आएपनि कान चिरेका भनेझैँ वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा त झन उग्र बनेर प्रदर्शन भएको छ । भनसुनको आधारमा, आफ्नो दलको र त्यसमा पनि आफ्नै गुटको मान्छे भएकै आधारमा एउटै अक्षम मानिसलाई पटक–पटक राज्यको उही पदमा दोहो¥याई, तेहे¥याई नियुक्ति गर्दा उसँगैको अर्को सक्षम प्रतिस्पर्धाीको मनोवल कस्तो हुँदो हो । 

    यसरी आफुखुशी टिका लगाएर बाँडेको ‘टिके’ पद र ‘टिके’ व्यक्तिले गर्ने काम कसरी सर्वस्वीकार्य होला ।  यस्ता व्यक्तिले गर्ने काम र निकाल्ने परिणाम आमनागरिक, आमजनताप्रति उत्तरदायी भन्दा पनि उही मालिकप्रति मात्र उत्तरदायी र बफादार हुन्छ ।

    यदि लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र वा समाजवाद जे नामले पुकारे पनि नेतृत्व तहमा वा उच्च ओहदामा बसेको व्यक्तिको आचरण सुध्रिएन भने, आलोचनात्मक भन्दा पनि अन्धभक्तहरुलाई काखि च्यापियो भने दुख पाउने जनताले नै हो, देशले नै हो र राज्य व्यवस्था प्रणालीमाथि नैं प्रश्न चिन्ह खडा हुने हो । यो प्रथा रोक्न सबै राजनीतिक दलका समर्थक, सुभेच्छुक र आमजनता नै सचेतनापुर्वक लाग्नु पर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ