शनिबार, वैशाख २२ गते २०८१

गौतम बुद्ध क्रिकेट रंगशालामा सुरु भयो अन्तर प्रदेश राष्ट्रिय खेलकुद

गौतम बुद्ध क्रिकेट रंगशालामा सुरु भयो अन्तर प्रदेश राष्ट्रिय खेलकुद

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • गौतम बुद्ध क्रिकेट रंगशालामा सुरु भयो अन्तर प्रदेश राष्ट्रिय खेलकुद

    भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० सुरू भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यसको उद्घाटन गरे।

    images

    बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले पहिलो पटक अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गरेको हो। २०७८ र २०७९ सालमा प्रदेश स्तरीय खेलकुद आयोजना गरिएकोमा यस वर्षदेखि अन्तर प्रदेश खेलकुद सुरू गरिएको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए।

    क्रिकेट, फुटबल, भलिबल, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका प्रतियोगिता सञ्चालन हुनेछन्।आइतबार उद्घाटन कार्यक्रममा बैकुण्ठ मानन्धरसहितका चार जना ओलम्पियनहरूले ओलम्पिक टर्च बालेका थिए।

    खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगिता भने शनिबारबाटै सुरू भइसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा भइरहेको अन्तर प्रदेश क्रिकेटमा सोमबार कोशी र बागमती प्रदेशका बीच सेमिफाइनलको खेल भएको थियो। बागमती प्रदेशलाई जित्दै कोशी फाइनलमा पुगेको छ। मंगलबार दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

    महिला र पुरूष भलिबल भरतपुर–१० स्थित गेस्टहाउस चौरमा हुनेछ। महिला फुटबल भरतपुर–१९ स्थित बखान स्मृति रंगशाला शारदानगर, पुरूष फुटबल गौरीटार रंगशाला हेटौंडा, बक्सिङ, कराते र तेक्वान्दो औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा हुनेछन्।

    एथलेटिक्स भरतपुर–२० मा रहेको चित्रवन रंगशालामा, ब्याडमिन्टन भरतपुर–१० स्थित कवर्डहलमा र पौडी भरतपुर–६ स्थित लेक ट्वान्टी थाउजेन्ड रिट्रिट हवेलीमा हुनेछ।

    प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय स्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न अन्तर प्रदेश खेलकुद महत्वपूर्ण हुने बताए। उनले निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई सम्पन्न गर्न आवश्यक स्रोतको सुनिश्चितता आगामी वर्षको बजेटमार्फत गर्ने आश्वासन दिए।

    'यो नेपाल सरकारको गौरबको योजना हो। विभिन्न जटिलता, समस्याहरूको समाधान गर्दै रंगशाला निर्माणको चरणमा पुग्न लागेको छ,' प्रधानमन्त्री दाहालले भने, 'आगामी बजेटमा आवश्यक स्रोतको सुनिश्चितता हुन्छ।' उनले खेलकुदका लागि आवश्यक संरचना निर्माण गर्न सके कुशल खेलाडीहरू जन्मिने र युवाहरूको पलायन रोक्न पनि सकिने बताए।

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले खेलाडी सन्तुष्ट बनाउन र उनीहरूको जीवनस्तर सुधार गर्न प्रदेश सरकारले विभिन्न प्रयासहरू गरिरहेको बताए। उनले भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ५२ करोड रूपैयाँ बजेटको सुनिश्चितता गरेको र अन्य खेलकुदका संरचना निर्माणका लागि पनि काम गरिरहेको बताए।

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारले साझेदारीमा संरचनाहरू निर्माण गर्नुपर्ने बताइन्। उनले क्रिकेट रंगशाला निर्माणका लागि संघीय सरकारको सहयोग मागिन्।

    'केही दिनभित्रैमा टेन्डर प्रक्रिया टुंगिएर रंगशालाको पहिलो चरणको निर्माणको काम सुरू हुन्छ,' उनले भनिन्, 'प्रदेश सरकारले ५२ करोड रूपैयाँ बजेटको सुनिश्चितता गरिसक्यो। संघले कम्तीमा ५० करोड बजेट छुट्टाइदियोस् भन्ने चाहना छ।'

    ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशमा खेलाडीहरूको विकास गर्न, राष्ट्रिय एकता बलियो बनाउन र देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलकुद गतिविधि बढाउनु आवश्यक रहेको बताए। 

    प्रदेश सरकारले यो खेलकुदमा सहभागी खेलाडीहरूको ३० लाख रूपैयाँ बराबरको बीमा गरेको छ। खेलाडीहरूलाई प्रोत्साहन गर्न सेवा सुविधाहरू पनि बढाएको प्रदेश सरकारले जनाएको छ।

    भरतपुरमा वैशाख १ गतेसम्म हुने खेलकुदमा ५ हजार जनाभन्दा बढी खेलकर्मीहरू सहभागी हुने प्रदेश खेलकुद विकास परिषद सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार