काठमाडौं । गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन् ।
त्यसैले नेकपा एमालेले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी केन्द्रका आठै जना प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । गण्डकी प्रदेशमा सभामुख धितालसहित नेकपा माओवादी केन्द्रका आठ सदस्य छन् ।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले पनि मुख्यमन्त्रीमा आजै दाबी पेस गर्ने जानकारी दिए । ‘सभामुखलाई लागि राजीनामा गराएर जाने कि नगराई जाने भन्नेमा छलफलमा छौं तर आजै दाबी पेस गर्छौं,’ प्रमुख सचेतक नेपालीले भने ।
सत्ता गठबन्धनका नेताहरुका अनुसार नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भौतिक पूर्वाधारमन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि गठबन्धनमा समेटिएको छ । उनले पनि एमाले नेता अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएका छन् । उनको समर्थनले सत्ता गठबन्धनलाई ठिक्क बहुमत पुग्दछ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र (दीपक मनाङ्गे) एक गरी ठिक्क बहुमत पुग्छ । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।