मंगलबार, वैशाख १८ गते २०८१

अध्यक्ष छाडेपछि माधव र झलनाथले जस्तो यो चाहियो, त्यो चाहियो भन्दिनँ : ओली

अध्यक्ष छाडेपछि माधव र झलनाथले जस्तो यो चाहियो, त्यो चाहियो भन्दिनँ : ओली

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • अध्यक्ष छाडेपछि माधव र झलनाथले जस्तो यो चाहियो, त्यो चाहियो भन्दिनँ : ओली

    २३ चैत, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्व प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परम्परा गलत भएको बताएका छन् । आफूले अध्यक्ष पद छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमै बसेर यो पनि चाहियो त्यो चाहियो भनेर नबस्ने उनले बताएका हुन् ।

    images

    एमाले कास्कीमा निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यको शपथ कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले माधव नेपाल र झलनाथ खनालले जस्तो नगर्ने बताएका हुन् ।

    ‘माधव नेपालले १५ वर्ष पार्टी अध्यक्ष भएर चलाए, प्रधानमन्त्री भए । अनि भन्छन्, मलाई खोइ ? मेरो के भयो त ?’ ओलीले हाँस्दै भने, ‘अहिले सत्ता समीकरणमा हुनुहुन्छ । त्यो पनि ख्याल गर्नुपर्नेछ फेरि, मैले झण्डै झण्डै बिर्सिएछु ।’

    १३ वर्ष पार्टी प्रमुख भएका झलनाथ खनालले प्रधानमन्त्री भए पनि मेरो भाग खोइ त भनेर खोज्ने गरेको उनले बताए । पार्टीका पूर्व प्रमुख भएकै कारण स्वतः वरिष्ठ नेता भएर अध्यक्षकै छेउमा बस्ने र झन्झट दिने काम अब एमालेमा नहुने उनले बताए ।

    ‘म तपाईंहरुलाई कहिल्यै भन्न चाहन्छु, म अध्यक्ष छोडेपछि अध्यक्षको छेउमा बसेर यो पनि चाहियो, त्यो पनि चाहियो भन्दिनँ’ एमाले अध्यक्ष ओलीले भने, ‘मागेको सहयोग दिने हो, मेरो हैसियत के भनेर त्यहाँ लफडा गर्न जाने होइन ।’

    उनले अगाडि भने, ‘सकुञ्जेल काम गर्छु, अध्यक्ष छोडेपछि अर्काले मजाले काम गर्न पाउनुपर्छ । वरिष्ठ नेता बनेर छेउमा बसेर खिचिखिचिखिचि हुँदैन । म गर्दै गर्दिनँ ।’

    एमाले अध्यक्ष ओलीले एमालेविनाको नेपाल र ओलीविनाको एमाले भनेको सुन्दा दया लागेर आउने टिप्पणी गरे । ‘मैले पोहोरपरहार भन्या’थे, जुँगा अलि कालाकाला हुन थाले भनेर, मेरो कपाल सप्पै झर्‍याथ्यो, अहिले पलाउन थाल्या’छ,’ ओलीले भने, ‘अस्तिनै मैले भने २० वर्ष अझै कसैले आश नगरे हुन्छ ।’

    एमालेलाई एक्ल्याउँछौं भन्नेहरूले गत वर्ष (एमाले–माओवादी गठबन्धन तोडेर) एउटा धक्का दिएको उनले स्वीकार गरे । तर एक पटक कसैले छिर्के लगाएर लडायो भन्दैमा एमाले लडियो भनेर बस्ने पार्टी नभएको भन्दै ओलीले भने, ‘एमालेलाई एक्ल्याइयो भन्नेहरुलाई एमालेले फर्किने तागत देखाएको छ ।’

    कांग्रेस नेतृत्वको गठबन्धनलाई आफूले खरानीको डल्लो भनेको स्मरण गर्दै उनले त्यो फुटेको बताए । ‘रानीको डल्लो सुक्यो भने पनि फुट्छ, भिजे पनि फुट्छ,’ एमालेविरुद्धको दक्षिणपन्थी गठबन्धन तोडिएको भन्दै ओलीले भने, ‘नभन्दै खरानीको डल्लो फुट्यो ।’

    अहिले एमालेले माओवादी सहितका दलहरुसँग गठबन्धन नभइ आ–आफ्नै पार्टी र नीतिअनुसार चल्ने गरी सत्ता समीकरण मात्र बनाएको ओलीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार