काठमाडौं । चितवनमा शालीन पोखरेलको मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट उनैले लेखेको पुष्टि भएको छ ।
घटनास्थलमा भेटिएको सुसाइड नोट फरेन्सिक ल्याबमा परिक्षण गराउँदा उनकै रहेको पाइएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले जानकारी दिए । शालीनको नोट कापी र उत्तरपुस्तिकासँग जाँच गर्दा उनले नै लेखेको पाइएको एसपी रिमालले बताए ।
शालिन फागुन १२ गते बिहान होस्टेलको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको हत्या भएको किटानी जाहेरीका आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
पक्राउ गरिएका रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई चितवन अदालतले सोमबार थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको समय दिएको छ ।