शनिबार, जेठ ५ गते २०८१

अलैँचीको मूल्य उत्साहजनक वृद्धि, प्रतिमन ८० हजार

अलैँचीको मूल्य उत्साहजनक वृद्धि, प्रतिमन ८० हजार

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • अलैँचीको मूल्य उत्साहजनक वृद्धि, प्रतिमन ८० हजार

    विराटनगर । कोशीका पहाडी जिल्लाको मुख्य नगदे बालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रूपमा बढेको छ । अलैँची प्रतिमन यतिबेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

    images

    झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो । यो वर्ष भने फेरि अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान र व्यवसायीहरू उत्साहित बनेका छन् ।

    अलैँची व्यवसायी महासङ्घ नेपालका अध्यक्ष निर्मल भट्टराईका अनुसार हाल अलैँची प्रतिमन ७८ देखि ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ । ताप्लेजुङ, इलाम, पाँचथरलगायत पहाडी क्षेत्रमा उत्पादित अलैँचीलाई ग्रेडिङ गरेर मूल्य कायम गरिन्छ । ग्रेडिङपछि गुणस्तरका आधारमा त्यसको मूल्य केही कम बेसी हुने गरेको व्यवसायी बताउँछन् ।

    गत वर्ष अलैँचीको कारोबार प्रतिमन २५ हजार रुपैयाँबाट सुरु भएर ५९ हजार रुपैयाँ प्रतिमन बिक्री भएको थियो । उत्पादित अलैँची झापाको बिर्तामोडमा सङ्कलन गरी आवश्यक प्रक्रिया पुर्‍याएर भारततर्फ निकासी गरिन्छ । अधिकांश अलैँची भारत निर्यात हुने गरेको छ भने पाकिस्तान र खाडी मुलुकहरूमा पनि नेपाली अलैँची जाने गरेको छ । केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ ।

    चालु आर्थिक वर्षको मंसिरसम्म झापाको मेची भन्सारबाट तीन अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०८०–८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको तथ्याङ्क छ । उक्त परिमाणको अलैँचीबाट तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको जनाइएको छ ।

    ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सङ्खुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ । आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो ।

    पूर्वी पहाडी जिल्ला र अरू जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ । उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार