माइक्रोसफ्ट, गुगलसमेत विश्वका कैयन् ठुला प्रविधि कम्पनीहरुले आफ्नै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स विकास गरिसकेका छन् ।
गुगलले आफ्नो पछिल्लो पिक्सेल ८ सिरिजको फोनमा विभिन्न फिचरहरु राखेको छ । ती फिचरको मद्दतबाट प्रयोगकर्ताहरुले पिक्सेल स्मार्टफोनमा नयाँ अनुभव गर्न पाउनेछन् । यद्यपि एप्पलले भने जेनेरेटिभ एआईको क्षेत्रमा अहिलेसम्म कुनै ठुलो काम गरेको छैन ।
धेरै मानिसहरु एप्पलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कहिले लन्च गर्दछ भन्ने पर्खाइमा छन् । अन्ततः यो प्रश्नको जवाफ एप्पलका सीईओ टिम कुकले दिएका छन् ।
उनका अनुसार एप्पलले जेनेरेटिभ एआईको विकासमा काम गरिरहेको छ । त्यसैले एप्पल प्रयोगकर्ताहरुले निकट भविष्यमै एप्पलको आफ्नै एआई देख्न पाउनेछन् । हालै लगानीकर्ताहरुसँगको बैठकका क्रममा टिम कुकले यो विषयमा प्रकाश पारेका छन् ।
गत अगष्टमा कुकले लामो सामयदेखि कम्पनीले जेनेरेटिभ एआईमा काम गरिरहेको बताएका थिए । उनका अनुसार एप्पल एउटा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तयार गर्न चाहन्छ जसलाई लामो समयसम्म प्रयोग गर्न सकियोस् ।
कुकले जेनेरेटिभ एआई प्रविधिको जिम्मेवार विकास तथा एकीकरणमा जोड दिएका छन् । यद्यपि एप्पलको उक्त परियोजनाका विषयमा उनले हालसम्म थप खुलासा भने गरेका छैनन् ।
लगानीकर्ताहरुसँगको बैठकमा कुकले यस क्षेत्रमा एप्पलले निकै धेरै लगानी गर्न लागेको जानकारी दिए । भविष्यमा यो प्रविधि एप्पलका प्रडक्टहरुको हिस्सा बन्ने उनको भनाइ छ ।
एप्पलले बल्लतल्ल एआईको विकासमा काम गरिरहेको कम्पनीका सीईओ कुकले बताइरहँदा प्रतिस्पर्धी कम्पनीहरु गुगल तथा माइक्रोसफ्टले भने एआई विकसित गरी आफ्ना प्रडक्टहरुमा आबद्ध गरिसकेका छन् ।
स्मरण रहोस् एप्पलले हालै आफ्नो आइफोन १५ तथा आइफोन १५ प्रो सिरिज लञ्च गरेको छ । यी दुवै सिरिजका कुल चारवटा फोनको बिक्री पनि सन्तोषजनक रहेको छ । आगामी सिरिजका फोनबाट मात्रै एप्पलले आफ्नै एआई प्रविधिलाई पनि समेट्न सक्ने अपेक्षा गरिएको छ ।