काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘हनी बनी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै माघ २६ गतेलाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् । सार्वजनिक फस्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक मुडमा देखिएका छन् । तोमर भारतीय मोडल हुन् । यो नै उनको डेब्यु फिल्म हो ।
दिल्लीमा जन्मिएका तोमरले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनी अभिनित ‘याद पिया के आने लगी’ गीत चर्चित छ । यही गीतबाट उनले मोडलिङ करिअर थालेका हुन् ।
एबी इन्टरनेसनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् । सह-निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् ।
फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । २०७९ सालको जेठमा बेलायतको लण्डनमा छायांकन सुरु भएको थियो ।
निर्माण कम्पनीले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ फिल्म निर्माण गरेको छ । ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनीले नेपालमा विदेशी फिल्मको वितरण पनि गर्दै आइरहेको छ ।