आइतबार, मंसिर ९ गते २०८१

‘रित्तो गाउँ’को विशेष प्रदर्शन हुने

‘रित्तो गाउँ’को विशेष प्रदर्शन हुने

अखबार दैनिक
आइतबार, भदौ ३१ २०८०
  • ‘रित्तो गाउँ’को विशेष प्रदर्शन हुने

    काठमाडौँ  । नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य सहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ । 

    images

    सबै नेपालीले मनन् गर्नुपर्ने कथामा डकुमेन्ट्री सर्ट फिल्म बनेको हुनाले यसलाई स्वदेशसँगै नेपालीहरूको बसोबास रहेको अन्य देशमा पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए । 

    ‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौँ, जुन कथा असाध्यै दर्दनाक छ,’ ज्ञवालीले भने, ‘यो कथालाई सबैले मनन् गरुन् भन्ने सोचले नै विशेष प्रदर्शन गर्न लागेका हौँ ।’

    आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’को फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै निर्माण टिमले प्रदर्शन योजना पनि बताएको हो ।

    आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मको यसको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ । उक्त भूमिकामा कलाकार हिउँवाला गौतमलाई मात्रै देखाइएको छ । पोस्टर सार्वजनिक भएपछि निकै चर्चा चलेको छ । ‘रित्तो गाउँ’ ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको सार्वजनिक पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

    ‘रित्तो गाउँ’मा अभिनेता मुकुन भुसाल, पुराना कलाकार सुवास गजुरेल र नव–अभिनेत्री सविना राउतको पनि अभिनय छ । 

    रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मका सहायक निर्देशक दिनेश वहादुर रावत हुन् भने डिओपी निरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमून, आराध्य जस्ता चर्चित सर्टफिल्म निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशक बढी समयदेखि पत्रकारिता पेसामा समेत आबद्ध छन् ।

    ‘रित्तो गाउँ’लाई आनन्द राज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायत कार्यकारी निर्माताको रूपमा छन् । निर्माता आनन्द राज शर्मा वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौँबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरिने बताए ।

    ८ दिन छायाङ्कन गरिएको यस डकुमेन्ट्री फिल्म तत्कालै युट्युबमा सार्वजनिक नहुने निर्माण टिमले जनाएको छ । नहकुल खड्काले सम्पादन गरेको फिल्ममा २० लाख भन्दा धेरै लगानी गरेको निर्माता आनन्द राज शर्मा वाग्लेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार