काठमाडौं । भारतीय फिल्म ‘जवान’को दबदबा कायम रहँदा शुक्रबारदेखि दुई नेपाली फिल्म रिलिज भएका छन् । दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ र बिपिन कार्की अभिनित ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका हुन् ।
गाउँको राजनीतिलाई कथावस्तु बनाएको ‘नांगो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दयाहाङ र मिरुनासहित फिल्ममा शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ, रविन्द्र झाको शीर्ष भूमिका छ ।
इमान्दार शिक्षक पासाङ (दयाहाङ) गाउँको विद्यालयलाई सुधार्न चाहन्छ । तर, गाउँमा चुनावी माहोल सुरु भएपछि उसलाई आफ्नो योजना पुरा गर्न कठिन हुन्छ । गाउँको अध्यक्ष जरी (शिशिर बाङ्देल)ले चुनाव जितेर देखाउन पासाङलाई चुनौति दिन्छ । यदि पासाङ आफूले जितेमा गाउँबाट भ्रष्टाचार निर्मुल पार्न बताउँछ । गाउँमा हुने चुनाव कसले जित्ला ? यसबारे थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।
फिल्मको लम्बाइ २ घण्टा २८ मिनेट छ । यो फिल्मलाई सोसल ड्रामा र पोल्टिकल कमेडी जनरामा राखिएको छ ।
शुक्रबारदेखि नेपालभर अर्को सोसल–ड्रामा फिल्म ‘एक भगवत् र एक गीता’ पनि रिलिज भएको छ । झरना थापा निर्देशित यो सामाजिक कथामा आधारित फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरको शीर्ष भूमिका छ । ‘एक भगवत् र एक गीता’को लम्बाइ २ घण्टा २० मिनेट तय छ ।