काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’लाई म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिने भएको छ । निधनको बेला उनले काम गरिरहेको फिल्ममा समावेश उनको मात्र दृश्यांशलाई समेटेर भिडियोलाई आगामी साता सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकको मेहनत र अन्तिम कामलाई दर्शकमाझ ल्याएर श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले भिडियो ल्याउन लागिएको बताए । ‘ट्रिब्युट टु सारुक’ नाम दिइएको भिडियोमा सारुक र अर्की एक अभिनेत्रीको दृश्यलाई मात्र समेटिने भएको छ । तर यसमा अभिनेत्री नम्रता श्रेष्ठको दृश्यलाई समावेश नगरिने भएको छ ।
‘उसको मेहनत र अन्तिम कामलाई देखाएर श्रद्धाञ्जली दिने उद्देश्य हो,’ रेग्मीले अनलाइनखबरसँग भने, ‘कार्यक्रममार्फत सार्वजनिक गरेर युट्युबमा रिलिज गर्ने तयारी छ ।’ फिल्ममा समावेश सारुकले अभिनय गरेको गीत र फुटेजलाई मात्र भिडियोमा समावेश गरिने भएको छ ।