बिहीबार , कात्तिक १ गते २०८२

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

अखबार दैनिक
बिहीबार , कात्तिक १ २०८२
  • बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

    तराई-मधेसका मिथिलाञ्चल क्षेत्रसहित महोत्तरीमा छठपर्वका लागि बाँसका भाँडा बनाउने डोम समुदायको अहिले व्यस्तता बढेको छ ।वर्षैभरि सुँगुर पालन गरी जीविकोपार्जन गर्ने डोम जातिलाई अहिले तराईवासीको महान् पर्व छठ नजिकिँदै जाँदा बाँसका भाँडाकुँडा बनाउ नभ्याइनभ्याई भएको जलेश्वर नगरपालिका-२ का रामजी डोमले बताउनुभयो ।

    गाँस, बास र कपासको जोहो गर्न समस्या पर्ने यो समुदायलाई छठपर्वको तयारी सुरु हुनासाथ असोज र कात्तिकभरि बाँसका भाँडा बनाएर बिक्री गर्न भ्याइनभ्याई हुने एकडारा गाउँपालिका-२ का तेतर डोमले बताउनुभयो । छठपर्वका लागि बाँस र बेतबाट छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउन यहाँका डोम समुदाय जुटेका उहाँको भनाइ छ ।

    दैनिक हातमुख जोड्न समस्या हुने यहाँका डोम समुदायले असोज र कात्तिकमा विभिन्न परिकार पकाएर खाने गरेको मनरासिस्वा नगरपालिकाकी ६० वर्षीया दुखनी डोमिनले बताउनुभयो ।

    बाँसको चोया र कप्टेरोबाट छिटी, डालो, नाङ्लो बुन्दै गरेकी पिपरा गाउँपालिका(४ की ५० वर्षीया निरसी डोमिनले भन्नुभयो, “छठपर्वको आगमनसँगै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउनमा व्यस्त हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले खुसी छौँ ।” यही आम्दानीबाट असोज, कात्तिक र आगामी केही दिनसम्म खुसीका साथ जीवन काट्न सकिने उहाँको भनाइ छ ।

    मिथिलामा छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरीमा अर्घ दिनुपर्ने प्रचलन भएकाले प्रत्येक परिवारमा पाँच–सातवटा बाँसका भाँडा आवश्यक पर्दछ । सोही कारणले डोमको व्यवसायले गति पाउनुका साथै आम्दानीमा बढोत्तरी हुने गरेको गौशाला नगरपालिकाकी सुनिता डोमिनले बताउनुभयो ।

    छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको जनविश्वास रहेको बताउँदै महोत्तरी गाउँपालिकाका ७० वर्षीय रामबाबु डोमले आफूहरू सोही कारण दिनरात बर्तालुहरूका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाउनुभयो ।

    महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरका प्रदीप डोमले छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बेचेर असोज तथा कात्तिकभरिमा वर्षभरिकै सबै कर्जाहरू चुक्ता गरेर आउने पाँच(छ महिनाको खर्चपर्चको जोहो गर्न कमाइ हुने गरेको बताउनुभयो ।

    औरही नगरपालिकाका बेचन डोमले घरका बालकदेखि वृद्धासम्मले यो समयमा छिटी, डालो नाङ्लो, सुपली र बाँसका अन्य भाँडाकुँडा बेचेर प्रतिपरिवारले रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्ने जानकारी दिनुभयो ।

    अहिले जिल्लाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएका छन् भने मिथिलाको अन्य जिल्लाका डोम समुदाय पनि बाँस र बेतका भाँडाकुँडा बनाउन व्यस्त रहेका डोमअगुवा बिरजु डोमले बताउनुभयो ।

    दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन सास्ती हुने गरेको भन्दै ती सामग्री बनाउन र मागअनुसार उपलब्ध गराउन भ्याइनभ्याई भएको उहाँको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ