काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन कारोबारमा संलग्न आरोपमा दुईजना विदेशी राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । उनीहरु हुन्, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मुलका भारतीय नागरिक थाप्तेन छिरिङ ।
साउन ३ मा मध्यराति सशस्त्र प्रहरीका डिएसपी प्र्रदिप राई नेतृत्वको टोलीले थाप्तेनलाई पक्राउ गरेको थियो । पुरानो दिल्ली घर भएका ५३ वर्षीय छिरिङ काठमाडौँको पानी पोखरीमा बस्छन् । कम्फर्ट हाउजिङस्थित उनी बस्दै आएको फ्ल्याटमा राजस्वले छापा मारेको छ । फ्ल्याटबाट विभागको टोलीले कागजात बरामद गरेको छ ।
विमानस्थलबाट सुन बरामद गरेको भोलिपल्ट (४ साउनमा) चीनतर्फ भाग्न लागेका थिए, जिक्वाङ लिन । नेपाल प्रहरीसँग समन्वय गरेर राजस्व अनुसन्धानको टोलीले दरबारमार्ग स्थित उत्तर ढोकाबाट पछ्याएर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चिनियाँ र भारतीय नागरिक सुन तस्करीमा ‘मध्यस्थकर्ता’ मात्रै भएको राजस्व विभागको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । ‘सुनमा उनीहरु लगानीकर्ता होइनन्’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने– ‘जिक्वाङ र थाप्तेन दुवैजना मध्यस्तकर्ता मात्रै हुन् ।’
सुनको लगानीकर्ता मध्येका व्यापारी राकेशकुमार अडुकिया भएको विभागका अधिकारीहरुको आशंका छ । साउन १० मा विभागको टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा खानतलासी गरेको थियो । अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको भेटिएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया फरार छन् ।
सुन झिकेर ‘रिप्याक’
सुन रहेको आशंकामा सोह्रखुट्टेबाट बरामद गरिएको ‘ब्रेक प्याड’ मा सुन भेटिएन । राजस्व अनुसनधान विभागका अधिकारीहरुका अनुसार सुन झिकेर ‘रिप्याक’ गरेर ब्रेक प्याड दुरुस्त बनाएर राखेको भेटिएको छ । अनुसन्धानका संलग्न एकजना अधिकृत भन्छन्– ‘५५ बाकस ब्रेक प्याड सुन झिकेर रिप्याक गरेको देखिन्छ ।’
साउन १० मा विभागले सोह्रखुट्टेमा रहेको ‘रेडी ट्रेड प्रालि’ को गोदाममा छापा मारेको थियो । विमानस्थलबाट बारामद सुन सोही कम्पनीले हङकङबाट मगाएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘सोह्रखुट्टेको गोदामको सामान रिप्याक भएको भेटिएसँगै पहिले पनि सो गिरोहले सुन ल्याउने गरेको देखियो ।’
बिहीबार राजस्वले चिनियाँ नागरिक जिक्वाङ लिन बस्ने डेरामा पनि छापा मारेको छ । जिक्वान र अरु दुईजना चिनियाँ बस्दै अएको डेरामा भेटिएको कागजात विभागले जफत गरेर विश्लेषण गरिरहेको छ ।