बुधबार, मंसिर १२ गते २०८१

गण्डक नहरमा भारतले ४ सय क्युसेक पानी छाड्यो

गण्डक नहरमा भारतले ४ सय क्युसेक पानी छाड्यो

अखबार दैनिक
बुधबार, असार २० २०८०
  • गण्डक नहरमा भारतले ४ सय क्युसेक पानी छाड्यो

    बारा । भारतले नेपालको गण्डक नहरमा बुधवारसम्म ४ सय क्युसेक पानी छोडेको छ । दुई देशबिचको सम्झौता अनुसार असार १५ गतेदेखि असोज १५ सम्म भारतले ८५० क्युसेक पानी नेपाललाई दिनुपर्नेछ जसमध्ये आजसम्म ४ सय क्युसेक पानी नहरमा छाडेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साले जनाएको छ । गण्डक नहरको भारततर्फको २२० आर्रडी भन्ने ठाउँमा नहर मर्मत काम भइरहेकोले बाँकी पानी केही दिनमा आउने नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर सुरेश प्रसाद साहले जनाएका छन् ।

    images

    na6_9QDbLzobXa.jpg

    नेपालतर्फ पर्साको जगन्नाथपुरबाट सुरु भएको नहर प्रणाली ८० किलोमिटर पूर्व रौतहटसम्म पुगेको छ । हाल गण्डक नहरको पानी बाराको सिम्रौनगढसम्म पुगेको र भोलि रौतहट पुर्याइने इन्जिनियर साहले जनाएका छन् । ‘अहिले किसानहरूका लागि पानी पर्याप्त छ, नहरको पानी बाराको स्रिमौनगढसम्म पुगेको छ । भोलिसम्म रौतहट पुर्याउने हाम्रो लक्ष्य हो’ इन्जिनियर साहले भने ‘नहरबाट सिँचाइ हुने बारा, पर्साको २८ हजार हेक्टर भूभाग मध्ये अहिलेसम्म ४ हजार हेक्टरमा नहरको पानी पुगिसकेको छ, दुवै जिल्लाको करिब १५-१५प्रतिशत भूभागमा रोपाई भइसकेको छ ।’ 

    बारा, पर्सा र रौतहटमा कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर बढाउने उकास्ने उद्देश्यले नारायणी नदीको पानीलाई गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणालीको माध्यमबाट दुवै देशमा वितरण हुँदै आएको छ । नेपालको नारायणी र त्रिवेणी नदीको पानी भारतको विहार राज्यको वाल्मिकीनगरमा ब्यारेज निर्माण गरी दोन शाखा नहर मार्फत पर्सा, बारामा आउने गर्दछ ।  

    na5_0psfPdD37Y.jpg

    भारत तर्फ विभिन्न ठाउँमा नहर मर्मत भइरहेकोले बाँकी पानी आउन केही लाग्ने दाबी  गरिए पनि नहर प्रणालीको ५० वर्षको इतिहासमा भारतले सम्झौता अनुसार ८५० क्युसेक पानी बिरलै दिएको जनाइएको छ ।

    यस वर्ष लामो समय परेको खडेरीका कारण किसानहरूले समयमै बिउ राख्न नपाउँदा नहरमा पानी भए पनि बिउ तयार नभएकोले धेरै ठाउँमा रोपाई हुन बाँकी रहेको इन्जिनियर साहले बताए।

    na3_q6mqTMW2oc.jpg

    यस वर्ष बारा, पर्सासहित मधेस प्रदेशका जिल्लाहरूमा असार १५ पछि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय सिमरा विमानस्थलमा रेकर्ड भएको तथ्याकं अनुसार यस वर्ष हालसम्मकै अधिकतम वर्षा असार १६ गते ४८ दशमलव २ एमएम भएको थियो ।

    na2_elZfN72263.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार