काठमाडौं। मुस्ताङको लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा नै दिएर धूमधामसँग ‘पूर्व राजाका छोरा’को विवाह उत्सव मनाइएको छ।
मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको ताप्लेजुङमा विहे भएको हो। लोमन्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार मंगलबार ताप्लेजुङबाट दुलही लिएर जन्ती नयाँ दरबारमा फर्किएका छन् ।
लोमन्थाङ गाउँपालिकाले जन्तीको स्वागतका लागि करिब ३०० घोडा र ६० गाडीको व्यवस्था गरेको थियो । विवाहोत्सव लोमन्थाङ गाउँपालिकाको सबै क्षेत्रमा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
विवाहकै अवसरमा सोमबार सबै कार्यालय तथा शिक्षण संस्थामा बिदा दिइएको थियो । लोमन्थाङमा अझै पनि पलवर विष्टलाई राजाको उपाधि दिएर विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवमा सम्मान दिइन्छ ।