फ्रान्सको राजधानीसँगै अन्य महानगरमा मुसाको संख्या बढ्दो छ। सार्वजनिक स्थानका ‘गार्बेज क्यान’हरुमा मुसा धेरै नै हुन्छन्। जसकारण त्यहाँका स्थानीयले समस्या भोग्दै आएका छन्। अहिले भने त्यहाँ 'के मानिस र मुसासँगै बस्न सक्छन्?' भन्ने विषयमा अनुसन्धान हुने भएको छ।
यो अनुसन्धानको उद्देश्य घर वा अपार्टमेन्टमा मानिस र मुसासँगै बस्न सक्छन् कि सक्दैनन् भनेर नजिता निकाल्न भने गरिन लागेको होइन। मुसालाई लिएर अहिले पेरिसमा राजनीति भइरहेको छ। मुसाको बढ्दो उपस्थिति घटाउन सरकारले योजना बनाउनुपर्ने माग भइरहेको छ। तर, पेरिस महानगर मुसाको अन्त्य नै गर्ने पक्षमा अहिले छैन। त्यसैले मुसाको उपस्थितिले मानिसमा पार्ने प्रभावबारे अध्ययन गर्न लागिएको हो।मुसालाई दु:ख नहोस् र मानवीय कार्यका कारण उनीहरु विचलित हुन नपरोस् भन्ने ध्ययेका साथ महानगरले वैज्ञानिक नतिजाका लागि व्यवाहारिक अनुसन्धान गर्न लागेको हो।
पेरिसका मेयर एन्ने हिडाल्गोले मुसा र मानिस कुन अवस्थासम्म सँगै बस्न छन् भन्नेबारेमा अध्ययन गर्न एउटा कमिटी गठन गरेकी हुन्। पेरिसकी उपप्रमुख एन्ने सोरिसले सेन्टर राइट रिपबलिकन पार्टीका जियोफ्री बोलयार्डले उठाएको प्रश्न जवाफ दिँदै कमिटी गठनबारेको निर्णय सुनाएकी हुन्। एन्ने पेरिसकी सार्वजनिक स्वास्थ्य हेर्ने इन्चार्ज पनि हुन्।
बोलयार्डले सार्वजनिक स्थानमा मुसाको बढ्दो संख्याविरुद्ध महत्वकांक्षी योजना बनाउनुपर्ने भन्दै लबिङ गर्दै आइरहेका छन्। उनले यसअघि मेयर हिडाल्गोलाई पेरिसमा मुसा नियन्त्रण गर्न केही नगरेको भन्दै आलोचना गरेका थिए। उनले मुसाहरुको उपस्थितिले पेरिसवासीको ‘क्वालिटी अफ लाइफ’मा असर परेको बताएका थिए।
बोलयार्डले प्रोजेक्ट अरमागेडनको नजिता अनुसार आफूले प्रश्न उठाएको बताएका छन्। सो प्रोजेक्टको उद्देश्य शहरमा मुसाको संख्या व्यवस्थापन गर्नु हो। सो प्रोजेक्टलाई फ्रान्स सरकारले नै आर्थिक सहयोग गरेको छ।
यता, उपप्रमुख सोरिसले भने पेरिसका मुसाले सार्वजनिक स्वास्थ्य जोखिम खडा नगर्ने भन्दै त्यसैका लागि अनुसन्धान गर्न लागेको बताइन्। उनले यस विषयमा फ्रान्सको हाइ काउन्सिल अन पब्लिक हेल्थसँग पनि राय मागेकी छिन्। उनले मुसाको विषयलाई राजनीतिकरण गर्न नहुने बताएकी छिन्।
‘हामीले वैज्ञानिक सुझाव चाहिन्छ, पोलिटिकल प्रेस रिलिज होइन,’ उनले भनिन्।
अहिले पेरिसमा प्ल्यागु रोग लगाउन सक्ने कालो मुसाबारे मात्रै चर्चा नभएको उपप्रमुख सोरिसले बताइन्। लेप्टोस्पिरोसिस नामक ब्याक्टेरियल रोग लगाउने अन्य मुसाबारे पनि अनुसन्धान हुने उनले बताइन्। उनले सन् २०१७ मा नै महानगरमा ‘एन्टी र्याट प्लान’ लागू गरेको बताइन्। मुसाहरुलाई फेरि जमिनमुनी नै पठाउन हजारौं नयाँ गार्बेज क्यानहरुमा लगानी गरेको समेत उनले बताइन्।
पेरिस शहरको निर्णयको एनिमल राइट्स ग्रुप एमिमक्स जुपोलिसले स्वागत गरेको छ।
‘मुसाहरु पेरिसमा मात्रै होइन फ्रान्सका मुख्य शहरमा पनि छन्। त्यसैले उनीहरु सँगै बस्न सक्छन् कि सक्दैन भनेर प्रश्न उठ्नु स्वभाविक हो,’ ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ।'