नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बासहित चार जना नेपाली खेलाडी भारतीय महिला फुटबलको शीर्ष डिभिजन आई लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।
भारतीय लिग खेल्नका लागि नेपाली टोलीकी कप्तान एञ्जिलासँगै फरवार्ड सावित्रा भण्डारी (साम्बा) तथा मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटी आज (बिहीबार) दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भारतीय लिगका लागि यस पटक विभिन्न क्लबमा नेपालबाट ६ खेलाडी अनुबन्धित भएका थिए । तर दीपा शाहीको टिकट नआएको बुझिन आएको छ भने गीता राना हाल चोटिल अवस्थामा छिन् ।
कप्तान एञ्जिलाले सेथु एफसी र सावित्राले डिफेन्डिङ्ग च्याम्पियन गोकुलम केरला एफसीबाट नयाँ सिजनको लिग खेल्दै छिन् । सावित्राले गत सिजन पनि गोकुलम आई लिग खेलेकि थिइन् ।
लिगका लागि मिडफिल्डरद्धय सरु र रेनुका एउटै क्लब किक स्टार्समा आबद्द भइका छन् । यसैगरी मिडफिल्डर दीपा लर्डस एफए तथा गीता सेथु एफसीमा आवद्द भएकी थिइन् । छैठौं संस्करणको आई लिग यहि अप्रिल २५ बाट शुरु हुने तालिका छ ।