‘मार्क्स मरिसक्यो भन्ने मूर्खहरूको वचनले तपाईंहरूलाई अल्मल्याएन। म मरेकै हुँ, तर जिउँदै पनि छु। यो तपाईंहरूका लागि द्वन्द्ववाद हो,’ कार्ल मार्क्स (सुनील पोखरेल)ले दर्शकलाई सम्बोधन गर्दै भन्छन्। उपरोक्त संकेतात्मक संवाद नाटक ‘माक्र्स फर्किए’को हो, जुन यही पुसको पहिलो साता (तीन दिन) काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मञ्चन भयो। संकेतात्मक यसर्थ कि आज कार्ल मार्क्स (सन् १८१८–१८८३) हामीमाझ छैनन्, तर उनको विचारधारा यति सशक्त रूपमा बाँचिरहेको छ, मान्छेहरूले मरेको घोषणा गरेर झनै जवान भएको प्रमाणित गरिरहेछन्।
मार्क्स (सुनील) अगाडि बोल्छन्, ‘उनीहरूले घोषणा गरेका छन्, मेरा विचार मरिसके। यी बुख्याचाहरूले सय वर्षभन्दा अघिदेखि यही कुरा भट्ट्याइरहेछन्। तपाईंहरूलाई उदेक लाग्दैन ? किन यिनीहरूले मलाई बारम्बार मृत घोषित गरिरहनुपरेको छ भनेर ?’
मार्क्स र एंगेल्सले घोषणा गरिदिए– सबै समस्याको जड पुँजीवादी (नाफा लिने) विश्व र निजी सम्पत्ति हो। यसले श्रमशक्ति अर्थात् मजदुरहरूलाई बाँच्न पुग्ने मात्रै तलब दिएर शोषण गर्छ र सीमित मालिकहरूलाई झन्झन् धनी बनाउँदै लैजान्छ, सत्ता र शक्तिको अधिकार दिइरहन्छ। त्यसैले सबै प्रकारका निजी सम्पत्ति उन्मूलन हुनुपर्छ, प्रत्येक सदस्यले स्वामित्व महसुस गर्ने खालको सम्पत्तिमा सामूहिक व्यक्तिको हक हुनुपर्छ।
माक्र्सको उपरोक्त विचारलाई समाजमा कस्ता व्यक्तिले किन मृत घोषणा गर्लान् ? कुरा स्पष्ट छ– जोसँग उत्पादन वा नाफा दिने पुँजी (मेसिन, जमिन, लगानी, दलाली आदि) छ, जसले धेरथोर नाफा र सत्ता–शक्तिको स्वाद चाख्न पाइरहेको छ, अथवा जो राष्ट्र–राज्य निर्माणको इतिहास र वर्तमान पुँजीवादी व्यवस्थाप्रति भ्रममा छ, उसैले माक्र्सको विचारधारालाई मृत घोषणा गरिरहेको छ।
मार्क्सले कुनै पात्र वा घटनाको स्मरण गर्नासाथ त्यो पात्र मञ्चमा आउँथ्यो। त्यसमाथि भित्तामा चित्रकला, चित्रकलामाथि मल्टिमिडियामार्फत आवश्यक दृश्य प्रस्तुत हुँदा नाटकले भव्य रूपमा कथा भनिरहेको आभास हुन्थ्यो।
यो अवस्थाप्रति चनाखो रहेर अमेरिकी इतिहासकार तथा नाटककार हवार्ड जिन (सन् १९२२–२०१०)ले नाटक लेखे– ‘माक्र्स इन् सोहो’ अर्थात् माक्र्स सोहोमा। कार्ल माक्र्सले अनेक दुःखका बाबजुद लन्डनको सोहो भन्ने ठाउँमा बसेर महŒवपूर्ण लेखपढ गरेका थिए। हवार्डले माक्र्सको मृत्युको एक सय १६ वर्षपछि तथ्य र साहित्यको प्रयोग गरी कथानक बनाए, मार्क्स लन्डनको सोहोमा आउन चाहेको, तर न्युयोर्कको सोहो भन्ने ठाउँमा पुगेको।
सोही नाटकलाई दामोदर उपाध्यायको अनुवादमा ‘माक्र्स फर्किए’ नाम दिइएको छ। यो एकपात्रीय नाटक हो, जसमा मार्क्स स्वयंले दर्शकलाई सम्बोधन गर्छन्, आफ्नो विगत सम्झन्छन्, आलोचकलाई जवाफ दिने शैलीमा आफूद्वारा लिखित पुस्तक, प्रतिवादित सिद्धान्तसँग सम्बन्धित व्याख्यान दिन्छन्। यसकारण यो ‘फ्ल्यासब्याक’ अर्थात् संस्मरणात्मक शैलीको नाटक हो। स्वाभाविक रूपमा व्यक्तिले आफ्नो विगतको स्मरण एक्लै गर्छ, तर उसको स्मृतिमा थुप्रै पात्र, घटना र दृश्य आउँछन्। यस मानेमा रंगकर्मी सुनील पोखरेल र प्रवीण खतिवडाको परिकल्पना तथा निर्देशनमा मञ्चन हुँदा यसमा बहुपात्र (माक्र्सकी पत्नी जेनी, माक्र्सका साथी, विरोधी लगायत) लाई प्रस्तुत गरियो। माक्र्सले कुनै पात्र वा घटनाको स्मरण गर्नासाथ त्यो पात्र मञ्चमा आउँथ्यो। त्यसमाथि भित्तामा चित्रकला, चित्रकलामाथि मल्टिमिडियामार्फत आवश्यक दृश्य प्रस्तुत हुँदा नाटकले भव्य रूपमा कथा भनिरहेको आभास हुन्थ्यो।
नाटकको विशेषता हो– अनेक कलाका माध्यमबाट भाव व्यक्त गर्नु, अन्ततः मानिस र मानिससँग सम्बन्धित विविध पाटोको कथा भन्नु। कथाभित्र इतिहास हुन्छ। इतिहासभित्र पराजित र विजेता, शासक र शासित, अल्पसंख्यक र बहुसंख्यक, उच्च र निम्न वर्ग हुन्छन् नै। तर, आज हामीमाझ प्रश्न खडा छ– कला–साहित्यका माध्यमबाट हामीले कसको कथा किन भनिरहेछौँ ? खैर, प्रस्तुत नाटकको कथा भने इतिहासलाई पर्गेल्ने, वर्तमानको विश्लेषण गर्ने र न्यायपूर्ण विश्व–व्यवस्था औँल्याउने महान् चिन्तक कार्ल मार्क्सको हो।
नाटकमा माक्र्सको व्यक्तिगत र पारिवारिक दुःखका थुप्रै पाटा प्रस्तुत हुन्छन्। आर्थिक अभावका कारण कैयौँपटक उनीहरूले भाँडाकुँडा बन्धकी राख्नुपर्छ। पत्नी जेनी र मित्र एंगेल्सको असाधारण सहयोगमा माक्र्स ब्रिटिस लाइब्रेरीमा अध्ययन गर्न र युग प्रवर्तक कृति लेख्न सफल हुन्छन्। नाटकले माक्र्सको व्यक्तिगत वृत्तसँगै तत्कालीन विश्व–व्यवस्था, इतिहास, राजनीतिलाई पनि समेटेको छ।
मञ्चित नाटकमा मञ्च–शिल्पको प्रयोग प्रतीकात्मक थियो। खम्बाहरू उठाइँदै गरेको अर्थात् निर्मार्णाधीन भवन वा संरचनाजस्तो लाग्ने मञ्चले पुँजीवाद उन्मुख समाजलाई संकेत गरिरहेझैँ लाग्थ्यो। युरोपमा पुँजीवाद उत्कर्षमा हुँदा माक्र्सले समाजवादको विचार दिएका थिए। आज हाम्रो सामाजिक र शासकीय गति पुँजीवाद उन्मुख छ, तर हामीले भर्खरै समाजवाद उन्मुख संविधान बनाएका छौँ। हाम्रो संविधानको प्रस्तावना भन्छ, ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेदको अन्त्य गर्दै ...समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न।’
यता हामीकहाँ निजी र सामुदायिक गरी दुइटा शिक्षा, दुइटा स्वास्थ्य चलिरहेकै छ। उत्पादन प्रणाली मूलतः टुक्राटुक्रामा बाँडिएको जमिन र परम्परागत कृषिमा आधारित छ, तर राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भन्सार, वैदेशिक ऋण र कर लगायत बनेका छन्। राष्ट्रिय उत्पादन बढाउनुपर्ने युवाको ठूलो संख्या पुँजीवादी व्यवस्थालाई सघाउन बिदेसिन बाध्य छ। यस्तो देश, काल र परिस्थिति हेरी यो मञ्चले विराट व्यंग्य र प्रश्न गरिरहेझैँ लाग्छ। जस्तोः पुँजीवाद उन्मुख मञ्च (व्यवस्था)मा उभिएर हामीले समाजवाद उन्मुख संविधान लेखेका छौँ। तर जाँदैछौँ कता, पुग्छौँ कहाँ ?
नाटक अनुसार मार्क्स भन्छन्, ‘पुँजीवादले प्रविधि र विज्ञानको क्षेत्रमा चमत्कारै गरेको छ। तर, उसले आफ्नै मृत्युको तयारी गर्दैछ। नाफाप्रतिको कहिल्यै नमेटिने यसको लालसाले कला, साहित्य, संगीत, स्वयम् सुन्दरता र मानवजातिलाई नै किन्न र बेच्न सकिने वस्तुमा परिणत गर्छ। कारखानाका मजदुर मात्र होइन, डाक्टर, वैज्ञानिक, वकिल, कवि, पत्रकार, चित्रकार सबैले बाँच्नका लागि आफूलाई बेच्नुपर्नेछ। बेचिनेले हामी मजदुर हौँ र हाम्रो साझा शत्रु छ भन्ने जब बुझ्नेछन्, तब आफूलाई सशक्त बनाउन हातेमालो गर्नेछन्।’
आज हामीले सोच्नुपर्ने बेला भएको छ– राष्ट्रिय उत्पादन अर्थात् नाफा बढाउन हामीसँग कस्तो योजना छ ? हामीले कसलाई नाफा हुनेगरी काम गरिरहेका छौँ ? आज हामी हिँडेको बाटोले धनी र गरिबबीचको खाडल बढाउँदै छ कि घटाउँदै ? हाम्रो कला–संस्कृति, साहित्य, शासकीय नीति, विचारधारा माटोमुखी उत्पादन मौलिक छ कि नव–उपनिवेशीवादले निल्दैछ ?
नाटकमा माक्र्सको संवाद छ, ‘दास क्यापिटल छापिएपछि हामीले उत्सव मनायौँ, तर हाम्रा ओढ्ने ओछ्याउने र खाने भाँडाकुँडा बन्धकीबाट छुटाउन एंगेल्सले केही पैसा दिनुप¥यो। एंगेल्स सन्त मानिस। उनलाई चिनाउने अर्को शब्द छैन। जब हाम्रो घरका पानी र ग्यासका लाइन काटिएर हामी अँध्यारोमा बस्न बाध्य भयौँ, हामी निराश थियौँ, तब सबै बिल उनैले तिरिदिए। उनका पिताका फ्याक्ट्रीहरू थिए, म्यान्चेस्टरमा। हो, (खिसिक्क हाँस्दै) पुँजीवादले हाम्रो रक्षा ग¥यो।’
केहीले तर्क गरेको सुन्नमा आउँछ, ‘माक्र्सले आफ्नो परिवारलाई दुःख दिए। उनले पुँजीवाद वा निजी सम्पत्तिको विरोध त गरे, आखिर उनलाई त्यसैले बचायो।’
मार्क्स र एंगेल्सले ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लेख्दा इतिहासतिर फर्केर, वर्तमानमा उभिएर भविष्यलाई नियालेका थिए। हिजोको सामन्तवादी समाज अर्थात् भू–मालिक (राजा÷जमिनदार)ले भूदासहरू जन्माएको थियो। जब तिनै भू–मालिकले विकास क्रमसँगै कलकारखाना खोले, सर्वहारा मजदुर जन्माउन थाले। यही अवस्थामा संसार रहन सक्दैन, यो न्यायपूर्ण व्यवस्था होइन। त्यसैले जमिनदारी, पुँजी लगायत निजी सम्पत्तिको उन्मूलन हुनुपर्छ, वंशीय उत्तराधिकारी प्रथा खारेज गरिनुपर्छ, सबैले काम गर्ने कृषि सेना बनाइनुपर्छ, जनसंख्याको वितरण गरी गाउँ र सहरको भेद पुर्नुपर्छ, आम्दानी हेरी कर तिर्नुपर्छ, शिक्षा निःशुल्क हुनुपर्छ– यही नै उनीहरूको घोषणा थियो। यसरी शोषित, उत्पीडितको पक्ष र सबैको न्यायमा सिद्धान्त बनाउँदा माक्र्सले परिवारलाई हेर्न सकेनन्, एंगेल्सको सहयोगमा उनले जीविका गर्नुप-यो।
आज हामीकहाँ विभिन्न विभेद अर्थात् अन्याय विद्यमान छन्। त्यसलाई हटाएर प्रत्येक व्यक्तिलाई आत्मसम्मानसहित उत्पादन वा सेवा–सुविधासँग जोड्ने खालको व्यवस्था ल्याउनुछ। दुनियाँलाई मुक्ति मिल्ने विचारधारा ल्याउँदा माक्र्सले पारिवारिक सुख भनेनन्, तर आजको विश्व परिवारवादमा अल्झेको छ, त्यो पनि एकल। यसमाथि हामी नातावाद, क्षेत्रीयतावाद, जातिवाद, धर्मवाद, लिंगवाद आदिबाट मुक्त भएर अगाडि बढ्नुछ। कम्तीमा समान शिक्षा, समान स्वास्थ्य, राज्य संयन्त्रबाट समानुपातिक सेवा–सुविधा, रोजगार–स्वरोजगारको नीति लिनुपर्नेछ। अर्थात् कम्तीमा हामी आफैँले लेखेको संविधानलाई सम्मान गर्नुछ।
नाटकको कथानक अनुसार, माक्र्सको युग प्रवर्तक कृति ‘पुँजी’ आम मजदुरले नबुझ्ने किसिमको भयोे भन्ने गुनासो मार्क्सपत्नी जेनीको हुन्छ। नाटकमा जेनीको भनाइ आउँछ, ‘तिमी (माक्र्स)ले यसो भन्नुपर्छ– तपाईंको मालिकले तपाईंलाई अति न्यून मात्रामा ज्याला दिन्छ, बाँच्न र काम गर्न पुग्ने मात्र। तर तपाईंको श्रमबाट उसले तपाईंलाई दिने तलबभन्दा कैयौं गुणा बढी कमाउँछ। त्यसकारण ऊ अझ धनी बन्दै जान्छ र तपाईं गरिबको गरिबै रहनुहुन्छ।’
हामीकहाँ केही मानिसहरू तर्क गर्छन्– मार्क्सले पुँजीका भोल्युम युरोपको तत्कालीन औद्योगिक क्रान्तिलाई हेरेर लेखेका हुन्, जुन हाम्रो अवस्थासँग मिल्दैन। तर, मार्क्सका कुरा आज आएर हामीसँग झनै मिलेको पाइन्छ। जस्तोः कुनै सुदूर बस्तीको कपास वा जडिबुटी कुनै सहरको उद्योगमा पुग्छ थुप्रैको श्रम जोडिएर, कुनै सुदूर बस्तीको युवा कुनै पुँजीवादी मुलुकमा मजदुरको रूपमा पुग्छ, यस्तो भइरहेकै छ, अनि माक्र्सको श्रम–शक्ति, उत्पादनको अतिरिक्त मूल्यले सिर्जना वर्गीय खाडल, पुँजीको सञ्चय, उपनिवेशीकरणको आधुनिक सिद्धान्त आदि कहाँनेर मिलेन ?
आजको पुँजीवादी विश्व–व्यवस्था अर्थात् खुला अर्थतन्त्रले धनीलाई थप धनी हुने र गरिबलाई गरिबीबाट उठ्न नदिने नै बनाउँछ। धनीले लगानी गर्छ, नाफा लिन्छ। नाफामूलक पेसा–व्यवसाय गर्न वा राम्रो जागिर खान शिक्षा र तालिम चाहिन्छ, यसका लागि लगानी गर्नुपर्ने हुन्छ, गरिबले त सक्दैन।
गरिबलाई उठाउने, समान न्यायको बोध गराउने सबैभन्दा पहिले हामीसँग सिद्धान्त चाहिन्छ, त्यसपछि व्यवहार। हामीले सिद्धान्तमै टेकेर, द्वन्द्ववाद (संविधानसभामा छलफल) हुँदै समाजवाद उन्मुख संविधानसम्म आइपुगेका छौँ। तर, हामीसँग व्यवहार (स्पष्ट कार्ययोजना, शासकीय नीति) छैन। यही व्यवहार सिकाउन मानिसले कला–साहित्यको सहारा लिनुपरेको हो। विडम्बना, हामीकहाँ कला र साहित्य (न्यायपूर्ण विचारधारामा आधारित)को पनि सम्मान छैन। पहिलो दिन यस नाटक मञ्चन भइरहँदा हलमा नेता–कार्यकर्ताको ओहोरदोहोर चलिरह्यो। केही नेता नाटक मञ्चन भइरहेकै बेला उठेर हिँडे। रंगमञ्चको सामान्य नियमले भन्छ– नाटक मञ्चन भइरहँदा नाटकघरबाट दर्शक बीचैमा उठेर हिँड्नु कलाको भयानक अपमान हो।
मानव सभ्यताको इतिहासमा रंगमञ्च यस्तो अजम्बरी रथ हो, जसले सम्पूर्ण कला–साहित्यलाई हुर्कन र विकसित हुन दिँदै युगयुगसम्म सवार गराइरहेको छ। र, यो यस्तो ऐना हो, जसले नागरिकको मात्रै होइन, शासक, अलौकिक शक्ति, मिथकीय पात्रको पनि कमी–कमजोरी औँल्याउँदै आएको छ। जहाँ रंगमञ्च फस्टाउँदैन, त्यसको सम्मान हुँदैन, त्यहाँ धेरै बेथिति झांगिएको हुन्छ। यद्यपि, रंगमञ्चमा कसको कथा भन्ने भन्ने प्रश्न छ, सबैको कथा सुन्ने भन्ने पनि प्रश्न छ। नाटक हेर्दा वा कला–साहित्यको उचित विमर्शमा बस्दा, राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिको बहस गर्दा हामीले धैर्य गुमाउनु हुँदैन।
यसपालि नेपाल अध्ययन केन्द्रको आयोजना र गुरुकुल आरोहणको प्रस्तुतिमा सुन्दर कथा, कलात्मक ढंगले मञ्चन भयो। यससँग सम्बन्धित रंगकर्मी प्रशंसाका पात्र छन्।
मञ्चमा:-
सुनील पोखरेल
निशा शर्मा
कमलमणि नेपाल
प्रवीण खतिवडा
सरस्वती चौधरी
रामभजन कामत
राज न्यौपाने
अन्जु देउजा
सुरज तमू
सुमित तामाङ
मौसम खड्का
सविन भट्टराई
उत्तमराज पाण्डे
(नागरीक दैनिक)