जीवनभरि सेल्सम्यान (विक्रेता) रहेको बिरेनप्रतापको जीवनमा उत्रो परिवर्तन आउँदैन । उसले सामान बेचेर साहुलाई धनी बनाउँछ, तर आफू सधैँ आर्थिक समस्यामा फसिरहेको हुन्छ । नाटक अगाडि बढ्दै जाँदा बिरेनप्रतापले अस्तित्वमा नभएको आवाज सुन्ने र पात्र देख्ने गर्न थाल्छ । बेलाबेला उसले आफ्नो दाइ (जसको मृत्यु भइसकेको छ)लाई देख्छ, अर्थात् उसमा ‘हेलुसिनेसन’को लक्षण देखिन्छ ।
प्रसंग हो– काठमाडौंको मण्डला थियटरमा मञ्चित नाटक ‘यौटा सपनाको अवसान’को । अमेरिकी लेखक आर्थर मिलर (१९१५–२००५)को नाटक ‘डेथ अफ सेल्सम्यान’ (१९४९)लाई विप्लव प्रतीकले ‘यौटा सपनाको अवसान’ शीर्षक दिएर नेपालीमा अनुवाद गरेका हुन् । आत्महत्याको प्रयास गर्दै आएको र मानसिक समस्यामा गुज्रिरहेको पात्र (बिरेनप्रताप)को मानसिक उल्झनलाई निर्देशक अनुप बरालले मञ्चमा स्पष्ट रूपमा उतारेका छन् ।
नाटक हेरिरहँदा उपरोक्त दृश्य अद्भुत लागेको थियो । फिल्म र रंगमञ्चबाट खारिएकी अभिनेत्री दिया मास्के (लीला), रोयदीप श्रेष्ठ (बिरेनप्रताप) र उनीहरूका छोराहरूको भूमिकामा देखिएका दिव्यदेव पन्त (सनुपप्रताप) र विकास जोशी (सगुनप्रताप)को अभिनयले नाटकले लय समातिसकेको थियो । त्यसमाथि मेनुका प्रधान (पारु)को उन्मुक्त हाँसो सहितको अभिनयले नाटकलाई थप रोचक बनाउँछ । निर्देशकले उपरोक्त दृश्यलाई यति सुन्दर ढंगले प्रस्तुत गर्न कसरी सके ? मैले यस नाटकको अंग्रेजी संस्करण पल्टाएर हेरेँ, पुस्तकका वाक्यले पनि यही दृश्य झल्कायो ।
नाटकको पृष्ठभूमि
डेथ अफ सेल्सम्यान नाटककार मिलरको चर्चित नाटक हो । यस नाटकलाई विप्लव प्रतीकले नेपाली परिवेशमा ढालेका छन् । मूल लेखकको प्रधानपात्र विली लोम्यानलाई विप्लवले बिरेनप्रताप बनाएका हुन्, जसले इलामदेखि पोखरासम्मका स्थानमा केडिया समूहदेखि गोल्छा समूहसम्मका सामान बेच्छ । निर्देशक बरालले भव्य सुसज्जित मञ्चमा नाटकलाई पस्केका छन् । ७० वर्षअघिको अमेरिकी समाजमा एउटा सेल्सम्यानले चाहने घरलाई मञ्चमा ल्याइएको छ । उसको चम्किलो गाडी पनि अदृश्य रूपमा कथामा आउँछ ।
पश्चिमी जगतमा, १८औँ शताब्दीमा आधिकारिक नियमसहित फस्टाएको फुटबल खेल पनि यस नाटकमा घुसेको छ । पहिलो विश्वयुद्धपछि खेलबाटै भए पनि संसार जित्ने आंकाक्षा शक्तिशाली राष्ट्रहरूमा देखिन्थ्यो । पहिलो विश्वयुद्धअघि नै पश्चिमी जगतमा अन्तर्राष्ट्रिय फुटबल म्याच हुँदै आएका थिए । पछि सन् १९३० देखि फिफा वल्र्ड कप सुरु भयो ।
पहिलो विश्वयुद्धमा युरोपियन देशको अर्थतन्त्र तहसनहस भए । यही बेला विश्वभरि आफ्ना उत्पादन बेचेर अमेरिका धनी बन्यो । तर, स्टक मार्केटका कारण सन् १९२९–३० तिर अमेरिकाले आर्थिक मन्दी खेप्नुपरेको थियो । जसलाई ‘द ग्रेट डिप्रेसन’को नामबाट पनि जानिन्छ । दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५)मा त उसले हतियार बेचेरै थप धनी बन्यो । दोस्रो विश्वयुद्धपछि लेखिएको यस नाटकमा पुँजीवादका कारण व्यक्तिको जीवनमा आउने अवसादलाई औँल्याइएको छ ।
आफ्नो उत्पादन बेचेर धनी हुने सपना युरोप–अमेरिकाले धेरै अघि देखेका हुन् । व्यापारकै बहानामा युरोप–अमेरिका दक्षिण एसियातिर पसे र शासन नै गरे । आफ्नो सामान बेचेर धनी हुने चेतको विकास र सोही अनुरूपका पुस्तक लेख्ने अभ्यास पश्चिमी जगतले १९औँ शताब्दीदेखि नै गर्दै आएका छन् । जसमध्ये अमेरिकी लेखक स्वेट मार्डन (१८४८–१९२४) विश्व चर्चित छन्, जसले धनी हुन प्रेरित गर्ने खालका (खासगरी सामान बेचेर) पुस्तक निकै लेखे ।
खासगरी पुँजीवादका कारण एउटा व्यक्ति वा परिवारमा पार्ने असर र प्रभावलाई मिलरले नाटकमा ल्याएका छन् । व्यक्तिवाद र उपभोक्तावादले व्यक्तिलाई कुन खाडलमा पु¥याउँछ भन्ने दर्दनाक दृश्य यस नाटकमा आएको छ । कहीँकतै यस नाटकको निचोडले माक्र्सवादी विचारधारालाई समर्थन गरेको आभास हुन्छ । यस नाटक लेखेकै साल अर्थात् ३४ वर्षको उमेरमा मिलरले पुलित्जर पुरस्कार पाए । यस नाटक र पुरस्कारबाट मिलर जति चर्चामा थिए, पछि उनको उत्तिकै चर्चा विश्वविख्यात कलाकार मरिलिन मुनरोसँगको विवाहका कारण पनि भयो ।
मिलरले ४१ वर्षको उमेरमा आफूभन्दा ११ वर्ष कान्छी मरिलिनसँग दोस्रो विवाह गरेका थिए, यो सम्बन्ध पाँच वर्ष मात्रै टिक्यो । त्यसको एक वर्षपछि, ३६ वर्षको उमेरमा मरिलिनको मृत्यु हुन पुग्यो । सँगै रहँदा यो जोडी संसारकै आकर्षणको केन्द्र थियो । ‘डेथ अफ सेल्सम्यान’मा कभर गर्ल (पत्रिकाका अघिल्ला पृष्ठमा फोटो छापिने युवती)को पनि प्रसंग आएको छ । पश्चिममा त्यतिबेला सौन्दर्यका सामानको विज्ञापनमा युवती राख्ने अभ्यास हुन थालेको थियो । यस नाटक लेखिनुभन्दा पाँच वर्षअघि (सन् १९४४ मा) अमेरिकामा ‘कभर गर्ल’ फिल्म नै बनेको थियो ।
न्ह्यू बज्राचार्यको संगीत निर्देशन रहेको मञ्चित नाटकमा पात्रको मनस्थिति बमोजिम पाश्र्व संगीत बजेको आभास गराउँछ । नाटकमा न्ह्यू बज्राचार्य, भानुभक्त ढकाल र सारा जे अधिकारीको आवाजमा गीत पनि राखिएको छ, जसले नाटकको कथा भन्ने शैलीमा सौन्दर्य थपेको छ ।
०००
चर्चित मिथ छ, ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछन् ।’ मूल भनाइमा बाँसुरी नभनेर ‘फिडल’ (भायलिनजस्तै लोकबाजा) भनिन्छ । यस नाटकलाई मिलरले बाँसुरीको धुनसँगै उठाएका छन् । मञ्चित नाटक पनि बाँसुरीको धुनसँगै सुरु हुन्छ । मिलरले बाँसुरीलाई ‘हेलुसिनेसन’को रूपमा ल्याएको बुझिन्छ । यद्यपि नाटकको कथाभित्रै विली लोम्यानको पिताले बाँसुरी बजाउने प्रसंग समेत छ । अर्कोतिर, बाँसुरीको धुनले ‘द ग्रेट डिप्रेसन’को समयमा पुँजीवादको आलापलाई पनि दर्शाउँछ ।
यस नाटक आजको हाम्रो सन्दर्भमा धेरै हदसम्म मेल खाएको आभास हुन्छ । समाजवाद उन्मुख संविधान लेखेर हामी पुँजीवादको अभ्यासमा छौँ । वर्गीय खाडल र भ्रष्टाचारका कारण व्यापार, व्यवसायमा अप्ठेरा देखिन थालेका छन् । बढी नाफा कमाउने (पुँजीवाद) र सुविधा भोग्ने (उपभोक्तावाद)ले आजका हाम्रा युवा पनि ग्रसित छन् । यसले युवामा निराशा पनि देखिन थालेको छ । भर्खरै, व्यापारमा असफलता झेलेकै कारण इलामका प्रेमप्रसाद आचार्य आत्मदाह गर्ने परिस्थितिमा पुगे ।
यो नाटकको मञ्चन सुरु हुँदा मधेसका मिटरब्याजी पीडितहरू आन्दोलन स्वरूप काठमाडौंतर्फ हिँड्दै आइरहेका थिए । नाटक चलिरहेको छ, मिटरब्याजीहरू आन्दोलनमै छन् । नाटकमा प्रमुख पात्र बिरेनप्रतापले साथीसँग ऋण लिइरहेको हुन्छ । हाम्रो समाजमा विभिन्न आवश्यकता पूरा गर्न ऋण लिनुपर्छ र जसमा चर्को ब्याजको मारमा सर्वसाधारण परिरहेकै छन् ।
प्रायोजित नाटक र चल्ने (टिकट बिकेर पैसा कमाउने) खालको नाटकमा मात्रै हामीकहाँ मञ्चको साजसज्जामा ध्यान दिइएको पाइन्छ । नत्र प्रायः नाटकमा सायद महँगो पर्ने हुनाले मञ्चको साजसज्जातिर ध्यान दिइँदैन । यस नाटकमा निर्देशक बरालले कथाले मागेबमोजिम मञ्चको साजसज्जा गरेका छन् । साजसज्जाले समृद्ध मञ्चमा ‘यौटा सपनाको अवसान’को कथा स्पष्ट सुनिएको र देखिएको छ । नाटकमा प्रत्येक कलाकारको अभिनय अब्बल छ, यद्यपि नाटक हेरिरहँदा बाल्कोनीको अधिकतम प्रयोग नभएको आभास हुन्छ ।
मञ्चमा
लीला : दिया मास्के
बिरेनप्रताप : रोयदीप श्रेष्ठ
सनुपप्रताप : दिव्यदेव÷जीवन गौतम
सगुनप्रताप : विकास जोशी÷अभिषेक खड्का
चन्द्रवीर : सन्देश शाक्य
बादल : सूर्यमान लिम्बु÷अविरल प्रताप अधिकारी
पारु : मेनुका प्रधान
बन्धु : शेखर चापागाईं
कुबेर : उत्पल झा
लता : सारा जे अधिकारी
पद्मिनी : निकिता आचार्य
सोनाम : विशाल पुलामी
देवध्वज : सुरज मल्ल ।