शनिबार, जेठ ५ गते २०८१

बुर्काको बन्देजबाट निस्किएर पूरा भएको आइशाको आकाशमा उड्ने सपना

बुर्काको बन्देजबाट निस्किएर पूरा भएको आइशाको आकाशमा उड्ने सपना

अखबार दैनिक
मंगलबार, चैत १४ २०७९
  • बुर्काको बन्देजबाट निस्किएर पूरा भएको आइशाको आकाशमा उड्ने सपना

    विराटनगर : सुनसरी सोनापुरकी २२ वर्षीया आइशा खातुनका  लागि परिवारको दर्बिलो साथ नहुँदो हो त एयर होस्टेस बनेर उड्ने सपना पूरा गर्न लगभग असम्भवजस्तै हुन्थ्यो होला। 

    images

    मुस्लिम समुदायमा महिलाहरुका लागि  धार्मिक, सांस्कृति बन्धनका पर्खाल भत्काएर स्वतन्त्र पखेटा फिँजाएर आफूले ताकेको लक्ष्यको आकाश चुम्न अन्य समुदायको दाँजोमा धेरै सकस बेहोर्नुपर्छ। तर शरीर ढाक्ने पहिरन, अनुहार ढाक्ने बुर्कासँगै आफ्नो सपना पछ्याएकी आइशा यती एयरलायन्सको जहाजमा एयर होस्टेस (परिचारिका) को रुपमा उड्न थालेको ६ महिना भयो।

    उनलाई भर्खरै नेपालकै पहिलो मुस्लिम एयर होस्टेसका रुपमा नेपाल मुस्लिम संघले सम्मानसमेत गरेको छ। सम्मानित भएपछि उनी खुशी साट्दै आफ्नो परिवारका सबै सदस्यलाई स्मरण गर्छिन्। उनी हाँस्दै भन्छिन्‚ ‘परिवारको साथ पाए संसारै जित्न सकिने रहेछ।’

    उनको परिवारमा बुवाआमा‚ भाइ र उनी एक्ली छोरी रहेछन्। एक्ली छोरी भएकाले पनि बुवाले एयर होस्टेसका लागि शुरुमा अनुमति नदिएको बताउने उनी  बुवालाई आफूले इच्छ्याएको  विषय सम्झाउन निकै समय लागेको बताउँछिन्।

    मुस्लिम समुदायमा छोरीलाई स्वतन्त्र भएर हिँड्ने छुट नभएको भन्दै समुदायका धेरै मान्छेले नकारात्मक टीकाटिप्पणी गरेका नमिठा क्षण उनीसँग नभएका पनि होइनन् तर परिवारले सन्तानको इच्छा आकांक्षा बुझिदिए समाजले तेर्स्याउने तगाराहरु बिस्तारै परिवर्तन हुने उनको ठम्याइ छ।

    ‘हाम्रो समुदायमा महिलालाई स्वतन्त्र भएर हिँड्ने छुट छैन, एकजनाले हुँदैन भनेपछि त्यो नै अन्तिम निर्णय हुन्छ। मेरो भाइ र ममीले बुझ्नुभएको थियो बुवालाई सम्झाउन निक्कै समय लागेको थियो,’ उनले  सुनाइन्, ‘बुवालाई मैले अंगाल्ने पेशाको विषयमा  सम्झाएपछि उहाँले बल्ल अनुमति दिनुभयो। परिवारले साथ दिए समाजलाई बिस्तारै परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ।’

    परिवारले सकारात्मक ऊर्जा दिए लक्ष्य प्राप्त गर्न सफल हुने बताउने आइशा करिब ३ हजार जनसंख्या रहेको छाताबेली बस्ती (उनको पुर्ख्यौली घर) मा स्नातकोत्तरसम्मको अध्ययन गर्ने पहिलो मुस्लिम महिलासमेत हुन्।

    पढाईको विषयमा पनि  उनले प्रेरणादायी किस्सा सुनाइन्। उनको बुवा तत्कालीन गाविस अध्यक्ष हुँदा अनपढ भनेर अपमान बेहोर्नुपरेको थियो। त्यही क्षणले पढाईमा रुची बढेको सुनाउने उनी बुवाले नपढे पनि आफूले पढेर बुवाको पढ्ने इच्छा पूरा गरेको बताउँछिन्।

    aaisha-khatun1_ldmExWkfrb.jpg

    ‘मेरो बुवा नपढे पनि व्यावहारिक राजनीतिमा डिग्री होल्डर हो,’ उनी हाँस्दै सुनाउँछिन्, ‘तत्कालीन समयमा बुवा गाविस अध्यक्ष हुनुहुन्थ्यो, त्यो बेला नपढेको भनेर अपमान गरिएको थियो रे उहाँको। त्यो क्षणले पनि मलाई पढ्न प्रेरणा मिलेको हो।’

    सानो छँदा घरमा बुवाले पढ्नका लागि ल्याएको म्यागजिनमा छापिएको परिचारिकाको सुन्दर तस्वीरले एयर होस्टेस बन्ने सपना सजाएको बताउने उनी  परिवारले दिएको स्वतन्त्रतालाई सदुपयोग गर्न सक्नु महत्वपूर्ण पाटो रहेको बताउँछिन्।

    हिजोका दिनमा छोरी घरबाट बाहिर निस्किँदा नराम्रो ठान्नेले अहिले सम्मान गर्दा धेरै खुशी लागेको उनी सुनाउँछिन्। जहाजमा परिचारिकोको पेश पनि समाजसेवा जत्तिकै भएको उनको बुझाई छ। मुस्लिम समुदायका महिलाहरु डाक्टर, इन्जिनियर भए पनि बुर्काबाट अझै पनि बाहिरिन नसकेको अवस्थामा आफूले स्वतन्त्र पेशा अपनाउँदा गर्व महसुस गरेको समेत उनी सुनाउँछिन्।

    ‘मलाई मेरो समुदायको ९० प्रतिशतले साथ दिनुभएको छ, त्यसमा १० प्रतिशतले केही प्रतिक्रिया पनि दिएका होलान्। उहाँहरुले पनि बिस्तारै मलाई सम्झिनुहुनेछ,’ उनी भन्छिन्, ‘हिजो मलाई नराम्रो भन्नेले आज राम्रो भन्नुहुन्छ खुशी लाग्छ। हाम्रो समुदायका महिला डाक्टर, इन्जिनियर हुनुहुन्छ‚ उहाँहरु बुर्काभित्रै काम गर्नुहुन्छ तर मेरो काम स्वतन्त्र भएर गर्ने हो परिवारको प्रतिष्ठालाई साथमा राखेर इमान्दारीपूर्वक आफ्नो पेशामा प्रतिबद्ध छु।’  

    आकाशमा उड्नु आफैँमा चुनौतीपूर्ण रहेको बताउने उनी आँखाअगाडि सँगै भएको साथी एक निमेषमा नै दुर्घटनामा परेर मृत्यु भएको खबरले कहिलेकाहीँ मन आत्तिने गरे पनि बिस्तारै चुनौती सामना गर्ने मनोबल बढ्दै गएको उनी सुनाउँछिन्।

    त्यसो त उनी एयर होस्टेस हुनुअगाडि विभिन्न सामाजिक कामहरुमा पनि सक्रिय थिइन्। समाजमा केही गर्नुपर्छ भन्ने विचारसहित अगाडि बढेकी उनी आफ्नो समुदायका लागि  प्रेरणा बन्ने चाहना रहेको उनी सुनाउँछिन्।

    ‘म यो पेशामा आबद्ध भएपछि मेरो समुदायका धेरै दिदिबहिनीले आफ्नो इच्छा व्यक्त गर्नुहुन्छ, मलाई उहाँहरुको लागि केही गर्नु सकुँझैँ लाग्छ‚’ उनले भनिन्, ’सायद बिस्तारै हाम्रो समाज पनि परिवर्तन हुन्छ र म मेरो समुदायमा प्रेरणा बन्न सकुँ जस्तो लाग्छ।‘

    प्रतिक्रिया दिनुहोस

    थप समाचार