शुक्रबार, कात्तिक २३ गते २०८१

एम्बुलेन्स यसरी हुन्छ दुरुपयोग

एम्बुलेन्स यसरी हुन्छ दुरुपयोग

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • एम्बुलेन्स यसरी हुन्छ दुरुपयोग

    काठमाडौं । बिरामी ओसारपसार गर्न एम्बुलेन्स प्रयोग गरिन्छ । बिरामी बोकेर अस्पतालसम्म लैजाने भएकै कारण एम्बुलेन्सलाई सडक प्रयोगमा प्राथमिकता दिइन्छ भने सुरक्षा चेकजाँचसमेत हुँदैन । तर, यही अवस्थाको फाइदा उठाएर एम्बुलेन्स दुरुपयोग हुन थालेको छ । विगत एक वर्षमा एम्बुलेन्समा गाँजा लगायत लागु पदार्थ ओसारपसारमा संलग्न १० जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआइजी पोषराज पोखरेलले बताए । जसमध्ये चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

    images

    एम्बुलेन्स दुरुपयोग गरिएका उजुरी सिधै प्रहरीमा नदिएर जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति, राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिमा पनि पर्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र ‘एचईओसी’ प्रमुख तथा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । मन्त्रालयसँग एम्बुलेन्स दुरुपयोगबारे आएका उजुरीको यकिन तथ्याङ्क छैन ।

    सहप्रवक्ता डा.अधिकारीले देशभर सञ्चालन रहेका एम्बुलेन्समा जीपीएस जडान कार्य भइरहेकाले अब दुरुपयोग हुने सम्भावना न्यून रहने बताउँछन् । देशभरका ६५५ वटा एम्बुलेन्स एउटै ट्रयाक अर्थात् जीपीएस प्रणालीमा दर्ता भएका छन् । सबै एम्बुलेन्सलाई सिस्टममा ल्याउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । हालसम्म ‘क’ वर्गका ३२, ‘ख’ वर्गका १ सय ६१ र ‘ग’ वर्गका २ हजार १ सय ४९ एम्बुलेन्स गरी २ हजार ३ सय ४२ वटा सञ्चालित छन् । प्रदेश १ मा १६ वटा एम्बुलेन्समा जीपीएस जडान भएको छ भने मधेस प्रदेशमा २८६ एम्बुलेन्स कुनै पनि प्रणालीमा आबद्ध गरिएको छैन ।

    बागमती प्रदेशमा ३ सय ४७, लुम्बिनी प्रदेशमा ७०, कर्णाली प्रदेशमा ४२, सुदूरपश्चिमका ५८ वटा एम्बुलेन्समा जीपीएस जडान भएको छ । हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता भएका छन् ।

    ग्लोबल फण्डमा जीपीएस जडान गरेका एम्बुलेन्सको संख्या १ सय ८९ वटा पुगेको छ भने ४६६ वटामा प्रदेश सरकारहरूले जीपीएस जडान गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    सहप्रवक्ता डा. अधिकारीका अनुसार एम्बुलेन्समा जीपीएस जडान गरेपछि एम्बुलेन्स कहाँ प्रयोग भइरहेको छ, कहाँ पुग्यो र कति समयमा एम्बुलेन्स खाली हुन्छ भन्ने कुरा एम्बुलेन्स समन्वय समितिले जानकारी प्राप्त गर्छ । यसले सेवा प्रवाहमा विश्वसनीयता कायम हुने उनको जिकिर छ ।

    अनुमति खारेज गर्नेसम्मको अधिकार
    अनुगमनको क्रममा एम्बुलेन्स दुरुपयोग वा मापदण्ड अनुसार सेवा नदिएको पाइएमा एक पटकलाई सचेत गराउने राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा उल्लेख छ । दोस्रो पटक पनि दुरुपयोग गरेमा वा मापदण्ड अनुसार नचलेमा सम्झौता गरेको अस्पताललाई हस्तान्तरण गरी एम्बुलेन्स संचालन गर्ने र दुईभन्दा बढी पटक दुरुपयोग गरेमा वा मापदण्ड अनुसार नचलेमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सल्लाहका आधारमा राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको सिफारिसमा राष्ट्रिय एम्बुलेन्स निर्देशक समितिले उक्त एम्बुलेन्सको सञ्चालन अनुमति खारेज गर्ने उल्लेख छ ।

    ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको सिफारिस गरिनेछ तथा जनस्वास्थ्य नियमावलीको नियम २३ को व्यवस्था अनुसार अस्पताल वा स्वास्थ्यसम्बन्धी संघसंस्था बाहेकलाई एम्बुलेन्स सञ्चालनको अनुमति दिइने छैन । तर यो निर्देशिका जारी हुनुपूर्व सञ्चालन स्वीकृति पाएका एम्बुलेन्सहरूको नवीकरण सरकारी अस्पतालहरूसँगको आधारमा गरिनेछ ।

    एम्बुलेन्स सञ्चालनमा आएको १० वर्षभन्दा पछि नवीकरण नगरिने निर्देशिकामा उल्लेख छ । देशभर सञ्चालनमा रहेका एम्बुलेन्स सिस्टममा नआएको खण्डमा कारणका आधार अनुसार थप कारवाही गर्न सकिने व्यवस्था छ ।

    एम्बुलेन्स सञ्चालन कसले गर्ने ?
    एम्बुलेन्स स्वास्थ्य संस्थाले बाहेक अन्य व्यक्ति र संस्थाले सञ्चालन गर्न पाइँदैन । अब विभिन्न गैरसरकारी संस्था, व्यक्ति, क्लब, पालिका आदिले एम्बुलेन्स सञ्चालन गर्न पाउँदैनन् । निर्देशिकामा उल्लेख गरिएको मापदण्ड भन्दा बाहिरी संघसंस्था तथा व्यक्तिले सञ्चालन गरेको एम्बुलेन्स अबको ८ वर्षभित्र खारेज गरिने छ ।

    अब सरकारी स्वास्थ्य संस्था, गैरसरकारी वा निजी वा सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्थाबाहेक अरुले एम्बुलेन्स सञ्चालन गर्न पाउने छैनन् ।

    दातृ निकायले सिधै एम्बुलेन्स प्रदान पाउँदैनन्

    अब विदेशी सरकार वा दातृ निकायले सहयोग स्वरुप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्व स्वीकृति लिएरमात्रै एम्बुलेन्स प्रदान गर्न पाउँछन् । त्यस्ता संस्थाको छनौट राष्ट्रिय एम्बुलेन्स निर्देशिका अनुसार गरिनेछ ।

    दातृ निकायले एम्बुलेन्सहरू ‘क’ र ‘ख’ वर्गको मात्रै प्रदान गर्नुपर्छ । प्रदान गर्ने एम्बुलेन्स नयाँ हुनुपर्छ । एम्बुलेन्स चलाउन आवश्यक प्राविधिक ज्ञान सम्बन्धित सञ्चालकलाई प्रदान गरेको हुनुपर्छ । निर्देशिकाको अनुसूची ४ अनुसारका उपकरण व्यवस्थित हुनुपर्नेछ । एम्बुलेन्स सेवा सञ्चालन गर्ने अस्पतालले उक्त एम्बुलेन्स यस निर्देशिका अनुसार सञ्चालन गर्न सक्ने क्षमताको सुनिश्चिता गर्नुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार