आइतबार, मंसिर ९ गते २०८१

राम्रो काम गरेकाले विवाद भएको भुवन केसीको तर्क

राम्रो काम गरेकाले विवाद भएको भुवन केसीको तर्क

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • राम्रो काम गरेकाले विवाद भएको भुवन केसीको तर्क

    चलचित्र विकास बोर्डको अध्यक्ष बन्न रातारात सत्तामा रहेको पार्टीमा आबद्ध भएका अभिनेता भुवन केसी आफ्नो उद्देश्यमा सफल भए । दुई वर्षका लागि बोर्डको अध्यक्ष हाँक्ने जिम्मेवारी पाएका उनले ७ महिनाको अवधिमा देखिने गरी र उपलब्धिमुलक काम गर्न सकेका छैनन् भन्दा गलत हुँदैन । यो अवधिमा उनका श्रृंखलाबद्ध विवाद मात्र रिलिज भए । र, हरेक विवाद ब्लकबस्टर भए ।

    images

    आइतबारबाट दुबईमा हुन लागेको बोर्डको ३० लाखको ‘नेपाल्स फिल्म फेस्ट’को व्यवस्थापकीय जिम्मेवारी विवादित निजी कम्पनी सूर्य कर्पोरेसनलाई दिएपछि भुवन फेरि विवादमा तानिएका छन् । तर, विवाद पचाउने बानी परिसकेका उनी शनिबार साँझ ३९ जनाको टोली लिएर फेस्टिभल गर्न दुबई उडे । जसमा उनका घरका दुई सदस्य जिया केसी र अनमोल केसी पनि सहभागी छन् ।

    फेस्टिभलका लागि दुबई उड्ने क्रममा अध्यक्ष केसीले आफूले राम्रो काम गरेकाले विवाद भएको आशय व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीसँग विवादको बारेमा भनेका छन्, ‘कामै नगरी घरमा बस्ने हो भने त विवाद आउँदै आउँदैन । कुनै राम्रो काम गर्दाखेरी आउन सक्ला । तर, यो कार्यक्रममा केही विवाद छैन । चलचित्र विकास बोर्डले पहिलो पटक विदेशमा फेस्टिभल गर्न लागेको हो ।’

    बजेट कम भएकाले यसपटक धेरै फिल्मकर्मीलाई समेट्न नसकिएको भुवनले प्रष्ट पारे । ‘हामीले सक्दो कलाकारलाई फेस्टिभलमा समेट्ने प्रयास गरेका थियौं । तर, यसपटक बजेट एकदमै थोरै छ । त्यसले गर्दा हामीले चाहेर पनि धेरै कलाकर्मीहरुलाई समेट्न सकेनौं । यद्यपि, अर्को कार्यक्रममा धेरै कलाकारलाई समेट्ने प्रयास गर्नेछौं । अब हरेक वर्ष यस्ता कार्यक्रम हुनेछ,’ केसीले भने ।  

    उनले फेस्टिभलमा सहभागिताका लागि धेरै कलाकारलाई प्रस्ताव गरिएको भए पनि विभिन्न कारणले सहभागी हुन नसकेको बताए । केसी भन्छन्, ‘राजेश हमाल, हरिवंश आचार्यसँगै अनमोल केसीका समकालिन कलाकारहरुलाई समेट्न प्रयास गरेका थियौं । तर, कोही छायांकन त कोही घरायसी कामले जान सक्नुभएन । यद्यपि, सबैले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार