आइतबार, मंसिर ९ गते २०८१

‘फूलबारी’को कन्टेन्ट बलियो छ : प्रियंका कार्की

‘फूलबारी’को कन्टेन्ट बलियो छ : प्रियंका कार्की

अखबार दैनिक
आइतबार, माघ २९ २०७९
  • ‘फूलबारी’को कन्टेन्ट बलियो छ : प्रियंका कार्की

    विवाह बन्धनमा बाँधिएर आमा भएपछि अभिनयमा पुनः सक्रिय हुन थालेकी अभिनेत्री प्रियंका कार्कीको यस वर्षका लागि तेस्रो फिल्म ‘फूलबारी’ आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस वर्ष प्रदर्शन भएका दुई फिल्म ‘लक्का जवान’ र ‘चि मुसी चि’ असफल भएका कारण यो फिल्मको सफलता उनका लागि अनिवार्य छ । र, उनी कन्टेन्ट बलियो भएकाले फिल्म सफल हुनेमा विश्वस्त छिन् ।

    images

    शनिबार साँझ एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले ‘फूलबारी’ हेर्न दर्शक ओइरिन सक्ने कारण औंल्याउँदै भनेकी छन्, ‘अहिले ओटीटी प्लेटफर्मको सुविधाले हाम्रो फिल्म हेर्ने दृष्टिकोण बदलिएको छ । जे पायो त्यही फिल्म अब हेर्दैनौं हामी । तर, कन्टेन्ट बलियो छ भने दर्शकलाई कसैले रोक्न सक्दैन । हलमा ओइरिएर मान्छे आउँछन् । ‘फूलबारी’को कन्टेन्ट बलियो भएकाले दर्शक हलमा ओइरिए आउँछन् भन्ने विश्वास छ ।’

    पारिवारिक फिल्म संसारमै सबैभन्दा बढी रुचाइने भएकाले ‘फूलबारी’को कथाले दर्शकलाई बाँध्ने उनको विश्वास छ । ‘फिल्म हेर्नुपर्ने कारण म पनि एउटा हुनसक्छ । तर, यो फिल्म नै विशेष हो । धेरै फिल्महरु लभस्टोरी, एक्सन, हरर जनरामा बन्ने गरेका छन् । यी जनराका सीमित दर्शक मात्र हुन्छन् होला सायद । तर, फेमिली ड्रामाको सीमित दर्शक हुँदैनन् । बच्चादेखि बृद्धसम्मलाई फिल्मको कुनै न कुनै पार्टले छुन्छ । त्यसैले सबैका लागि बनेको फिल्म हो,’ उनले भनेकी छन् ।

    रामबाबु गुरुङले गर्दै आएको जनराभन्दा ‘फूलबारी’ फरक रहेकाले पनि दर्शकलाई नयाँ लाग्ने उनको जिकिर छ । ‘प्रायःजसो उहाँको फिल्म कमेडी प्रधान हुन्छन् । ह्युमर बढी हुन्छ । यो चाहिँ पारिवारिक कथामा बनेको छ,’ उनी अगाडि भन्छिन्, ‘यसमा विपिन कार्की पहिलो पटक फरक भूमिकामा देखिँदै हुनुहुन्छ । उहाँको आफ्नो वास्तविक उमेरभन्दा पाको भूमिका छ । मेरो ससुराको भूमिका निभाउनुभएको छ । त्यो पनि दर्शकका लागि नौलो हुनसक्छ ।’

    ‘फूलबारी’ले उठाएको पारिवारिक सम्बन्धको कथाले दर्शकलाई कहिँ न कहिँ छुने उनको तर्क छ । ‘हाम्रो कल्चर कस्तो छ भने हामी सामुहिक परिवारमा बस्छौं । बाहिरको जस्तो १८ वर्ष भएपछि घर छाडेर जाने कल्चर छैन । त्यसैले बुबा-आमाको सम्बन्ध, मायाको सम्बन्ध, घरको सम्बन्ध देखाउँदा दर्शकलाई छुन्छ भन्ने लाग्छ,’ उनी आशावादी देखिइन् । उनले ट्रेलरमा देखिएको कुराभन्दा फिल्ममा धेरै रहेको पनि बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार