आइतबार, मंसिर ९ गते २०८१

पुस २७ बारे वहस गर्ने कि ?

पुस २७ बारे वहस गर्ने कि ?

अखबार दैनिक
बुधबार, पुस २७ २०७९
  • पुस २७ बारे वहस गर्ने कि ?

    अनेकौं स–साना राज्यमा विभाजित भएको तत्कालीन भुगोललाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको ‘इतिहास’ विद्यालयदेखि विश्वविद्यालयसम्म रटाउने, घोकाउने क्रम यथावत् चलिरहेकै छ । तर राज्यले संस्थागत तवरमा पृथ्वीनारायण नेतृत्वको अभियान नेपाल एकीकरण थियो कि गोरखा राज्य विस्तार भन्ने बिषयमा भने बहस गराउन चाहेको पाइदैन । आजसम्म ‘एकीकरण’को एकोहोरो रटान बाहेक इतिहासको यथोचित् समिक्षा भएको छै्रन । गर्न चाहेको पनि देखिंदैन ।

    images

    त्यही बनिबनाउ भाष्यलाई विस्तारित गर्दै अहिलेसम्म पनि जर्वजस्त भनाईएको छ, पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् । पाठ्यपुस्तक र इतिहासमा अझैं पनि लेखन पढल चलिरहेकै छ– पृथ्वीनारायणले भुरे–टाकुरे राज्यहरुलाई मिलाएर विशाल र एकीकृत नेपालको निर्माण गरे ।

    इतिहासले किन कहिल्यै भुरे–टाकुरे राज्यहरुको संस्कार, संस्कृति लगाएत विविध सकारात्मक पाटोहरुको खोजी गरेन ? गोरखा राज्य विस्तारको क्रममा भएका अनेकन् इतिहास, भाषा, संस्कृतिमाथिको बलमिच्याई, उत्पीडन र अत्याचारबारे इतिहास किन मौन छ ? त्यसका साथै  निश्चित जाति र समुदायमाथि सधै राज्यले असक्षमताको विल्ला भिराउने भाष्यको बितरण किन गरिरह्यो ? यसरी प्रश्न गर्नु पनि आजको दिनमा अपराधजस्तो भएको छ । तर के आजको दिनमा यस बिषयमा गम्भिरतापूर्वक समीक्षा गर्ने समय आएन र ? इतिहासमा जातकै कारण, भिन्न संस्कृति र परिचयका कारण भएको अनेकौं भेदभाव, विभेद र दोहोरो व्यावहारबारेको बसलाई फेरि पनि निषेध गर्न मिल्छ र ?

    विरुदावली जसरी लेख्ने, लेखाउने गरिएको इतिहासको पानाहरुमा उल्लेख   भएअनुसार विस १७९४ मा गोरखाका राजा नरभूपाल शाहले काजी महेश्वर पन्थ र सरदार जयन्त रानामगरको नेतृत्वमा नुवाकोटमाथि आक्रमण गर्न पठाए । उक्त युद्धमा मौलो गाड्ने जिम्मा काजी महेश्वर पन्थको थियो । महेश्वर पन्थले मौलो गाड्न नसकेपछि गोरखाली फौज नुवाकोटबाट गोरखा फर्कियो । फर्किने क्रममा जयन्त राना आफ्ना मगर सैनिकहरुको सहायताले त्रिशुली नदीमाथिको काठको पुल भत्काउन लागे, नुवाकोटले गोरखालीमाथि आक्रमण नगरुन् भनेर । गोरखाली फौजलाई छाडेर एक्लै गोरखा पुगेका महेश्वर पन्थले जयन्तविरुद्ध गोरखा दरवारमा चुक्ली लगाए । मगरहरुको ढिला सुस्तीको कारणले नुवाकोटमा गोरखाली सेनाको हार भएको पोल लगाए । नरभूपालले विनापुर्पक्ष जयन्त रानालाई गोरखा नपुग्दै पदच्युत गरिदिए । नगरेको अपराधको सजाय पाएपछि जयन्त राना आफ्नो मगर सहकर्मीहरुसँग नुवाकोट गई बस्न थाले, कान्तिपुरे राजा जयप्रकाशस‘ग मिलेर । 


    पृथ्वीनारायणको गोरखा विस्तार अभियानमा दलितहरु बिसे नगर्ची, जसवीर कामी, मणिराम गाइने, कालु सार्की, बांगे सार्की आदिको भूमिका निकै महत्वपूर्ण थियो । गोरखा राज्य विस्तार अभियानमा बिसे दमाई पृथ्वीनारायणको सहयात्री मात्र थिएनन्, सल्लाहाकार पनि थिए । बिसेले पृथ्वीनारायणलाई गोरखा राज्यमा सङ्कट पर्दा जनतासँग कर उठाउन र कालु पाण्डेलाई काजी तोक्न समेत सुझाव दिएका थिए । बिसे युद्धमा सैनिकहरुलाई हौसला दिन नगरा बजाउने र आइपरेको खण्डमा सैनिकको भुमिका समेत निर्वाह गर्दथे । विस १९६६ ताका बाङ्गे सार्की आफ्नो घरयासी सामाग्री लिन भारतको सहर बेतिया पुगेको समयमा ब्रिटीश अफिसरले उनलाई ठूला आश्वासनहरु दि‘दै नेपाल जाने बाटो देखाउन आग्रह गरे । उनले लोभको पछि नलागी आफ्नो मातृभुमिप्रति लगाव देखाउँदै ब्रिटिस अफिसरको आग्रह नस्विकार्दा मृत्युवरण नै गर्नुपर्याे । तर, सत्ताको भागेदारीमा दलितहरुले कहिल्यै स्थान पाएनन् । चिना टपरा गर्नेहरु, धर्मशास्त्रको व्याख्या गर्नेहरु देशको महान हस्तीका रुपमा इतिहासका पानामा स्थान ओगट्न सफल रहे ।


    देशमा राणा शासनको उदय पश्चात, विस १९१० मा राणा प्रधानमन्त्री जङ्गबहादुरले मुलुकी ऐन निर्माण गरी कानुन मार्फत नै जनजाति र दलित समुदायमाथि असक्षमताको बिल्ला लगाइदियो । ऐनले वर्णव्यवस्थामा नअटाउने छुट्टै भाषा, संस्कृति, धर्मका जनजातिहरुलाई समेत हिन्दु वर्णव्यवस्थाको नियम भित्र हालेर नियमन गर्याे । मुलुकी ऐनले जनजातिहरुलाई मासिन्या र नमासिन्या गरी दुई भागमा वर्गिकरण गर्यो । 

    पृथ्वीनारायणले बसालेको हिन्दु राज्यलाई बलियो बनाउन जङ्गबहादुरले जनजातिहरुमाथि हिन्दु संस्कार नमानेको भन्दै मृत्युदण्ड समेत दियो । यसको ज्वलन्त उदाहरणको रुपमा दशै नमानेको भन्दै, विस १९३३ सालमा धनकुटाका रामलिहाङ र रिदाम आठपहरिया राईलाई दिएको मृत्युदण्डलाई लिन सकिन्छ । त्यसका साथै जनजातिहरुलाई हिन्दु परम्परा अनुसार दशै अनिवार्य गर्ने र प्रमाणस्वरुप बलि चढाएको पशुको रगतको पञ्जाछाप घरको ढोकामा अनिवार्य गराइयो । त्यस्तै दलितहरुमाथि पानी चल्ने र नचल्ने गरि तहगत रुपमै छुवाछुतलाई झन् बलियो रुप दियो । दण्ड सजाय समेत जात अनुसार फरक–फरक थियो । बढी दण्ड सजाय तिर्नुपर्ने र भोग्नेहरुमा दलित र जनजातिहरुनै थियो । जङ्गबहादुरको समयमा काठमाडौँ उपत्यकामा दलितहरु घाम अस्ताएपछि घाम नउँदाउदासम्म शहर पस्न पाउँदैन थिए । मधेशीको अवस्था उस्तै थियो । इतिहासको कालखण्डहरुमा मधेशी समुदायको योग्दान त्यति भेटिदैन । किन भने मधेशीहरुलाई राज्यसत्ताले मानिसको दर्जा दिएको थिएन ।

    विस २००७ सालमा स्थापना भएको प्रजातन्त्रले पनि जात व्यवस्था उन्मूलन गर्न सकेन । कारण सयौं वर्ष लगाएर वर्ण व्यवस्थामा आधारित व्यवस्थित हिन्दु राज्य निर्माण गरिसकिएको थियो । उपल्लो जातका भनिएकाहरुले समेत बोल्न सक्ने अवस्था थिएन उनीहरुको मष्तिस्कमा राणा शासनको हाउगुजीले डेरा छाडिनसकेको कारण । प्रजातन्त्रको जग बलियो हुन नपाउँदै राजा महेन्द्रले पञ्चायती (पुष २२,२०१७–चैत्र २०४६) व्यवस्था लादे । 

    पञ्चायतकालमा राज्यको प्रत्यक्ष लगानीमा कथित नेपालीकरणको अभियान चलाइयो । राष्ट्रिय पोशाक, फूल, पन्छि, जनावर, भाषा, संस्कृतिको नाममा एकल पहाडे संस्कृतिलाई बलियो बनाउने काम भयो । सङ्गीत, कविताहरु समेत त्यस्तै  किसिमको निर्माण गरियो । विद्यालयको पाठ्यक्रमहरुमा राजा रानीको तस्बिर राख्ने । एकोहोरो इतिहास रटाइयो । बडामहाराज, एकीकरणको पिता (पृथ्वीनारायण), राष्ट्रपिता (त्रिभुवन) आदि । पञ्चायतकालमा ढाका टोपी लगाएको फोटो र नेपाली भाषा बोल्न नसक्नेलाई नागरिकता नदिने अघोषित नियम बनाइयो । राष्ट्रियता बलियो बनाउने नाममा गीत–सङ्गीत र साहित्यको माध्यमबाट फेरि उत्पीडित समुदायमाथि चर्काे प्रहार सुरु भयो । 


    महेन्द्रले विस २०२४ सालमा चलाएको गाउँ फर्क राष्ट्रिय अभियानले आदिवासी जनजाति, दलित, मधेशीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दबाउन भुमिका निर्वाह गरेको पाइन्छ । कर्मचारी लगाएर, गाउँलेहरुलाई नेपालको महानता र गोरखाली वीर गाथा सिकाउने, नेपाली भाषा बोल्न र साहित्य पढ्न प्रोत्साहन गर्ने, राजतन्त्रको महिमा गाउन लगाउने । साहित्य दरबारबाट संरक्षण पाएका मानिसहरुले मात्र लेख्दथे । उनीहरु पनि पहाडी हिन्दु संस्कृति र शासकहरुको मनोविज्ञानबाट प्रभावित थियो । अनि भन्ने गरिन्थ्यो साहित्य हिमाल, पहाड, झरना हेर्दै लेख्ने कला हो । 

    त्यतिमात्र होइन विभिन्न कालखण्डमा सुन्दरताको भाष्यसमेत आफू अनकुल निर्माण गरियो । कस्तो मान्छे राम्रो ? नाक लामो भएको, दाह्रीवाला, आँखा खोपिल्टो परेको । कस्तो नराम्रो ? चिम्सो आँखा भएको, मधेशी जस्तो कालो, दमाई कामी जस्तो आदि । आजपनि कुनै दलितको घरमा राम्रो छोरी वा छोराको जन्म भयो भने, कस्तो वाहुनी वा बाहुन जस्तो राम्रो भन्ने र बाहुनको घरमा नराम्रो जन्मियो भने कस्तो दमै–कामी जस्तो भन्ने प्रचलन समाजमा व्याप्त छ ।

    पृथ्वीनारायण शाहको क्रियाकलापलाई राज्य एकीकरणको नाम दिएता पनि खासमा तथ्यहरुले वर्णव्यवस्थामा आधारित हिन्दु राज्य निर्माण अभियान नै थियो भन्ने कुराको पुष्टि गराउँछ । त्यसको उत्कर्षमा जङ्गबहादुरले निर्माण गरेको मुलुकी ऐन त्यसैको नियमितताको अर्काे रुप थियो । कानुनी रुपमै छुवाछुत र विभेदलाई संस्थागत गर्नको लागि मुलुकी ऐन निर्माण गरेको पाइन्छ । महेन्द्रले पञ्चायती शासन मार्फत गरेको अर्काे अन्याय त्यसैको नयाँ रुप थियो ।

    यसरी शताब्दिऔँदेखि राज्यले जनजाति, मधेशी, दलित समुदायमाथि चरम शासन गर्दै असक्षमताको विल्लाहरु भिराउ‘दै आए । जनजातिहरुलाई राज्य र शासकहरुको नजिक राखेपनि कहिल्यै राज्यको प्रमुख पदमा अवसर दिइएन । दलितहरुले राज्यसत्तामा आफ्नो उपस्थिति राख्ने हैसियत नै पाएनन् । मधेशीहरुलाई त झन् चुरेको डाँडोसमेत उक्लने अवसर थिएन ।

    राज्यले इतिहास पढाउने नाममा हालसम्म एकथरी बिजेता, शासक समुदायको इतिहास मात्र जर्वजस्त रटाउने गरेको छ । आजपनि यस देशको उच्च जातका मानिस बाहेक अमुक जातका मानिसले इतिहास लेख्यो भने, त्यो इतिहासले वैधानिकता पाउदैन । इतिहासलाई हेरेर कसैले बदला लिने भाव राख्दछ भने त्यो गलत सावित हुन्छ, तर इतिहासको पुनरावोलकन हुन जरुरी छ । आजको समयमा इतिहासको विभिन्न कालखण्डहरुमा शासकहरुले गरेको अन्याय र अत्याचारको बहस गर्नु पाउनुपर्छ । त्यो दायित्व राज्यले लिनुपर्छ । त्यसैले इतिहासको समीक्षा गर्दैगर्दा सॉच्चै पुष २७ राष्ट्रिय एकता दिवस हो कि राज्य विस्तार भन्ने बिषयमा अबको पुस्ताले खुलेर बहस गर्नैपर्छ ।


    (लेखक त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा एम.फिल–पिएचडीमा अध्ययनरत छन् ) 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार