महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा महामन्त्रीमै प्रतिस्पर्धा गरेका मीनेन्द्र रिजाल र प्रदीप पौडेल दलको नेता परिवर्तन हुनुपर्ने मुद्दामा एकै ठाउँ उभिन आइपुगेका हुन्।
उनीहरू महामन्त्री गगन थापालाई संसदीय दलको नेता बनाउने सवालमा एकै ठाउँमा उभिएका हुन्।
कांग्रेसको संस्थापनइतर पक्षले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गर्दा पार्टीभित्रको आन्तरिक समीकरणमा महत्वपूर्ण फेरबदल देखिएको छ।
महाधिवेशनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेर गगन महामन्त्री विजेता बन्दा विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्री चुनिएका थिए। शेखर समूहबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल र कृष्णप्रसाद सिटौला समूहबाट (संस्थापन पक्षको सहयोगमा) उम्मेदवार बनेका प्रदीप पौडेल महामन्त्रीमा पराजित भएका थिए।
महाधिवेशनका बेला यसरी तीनतिर फर्केका युवा नेताहरू गगनलाई दलको नेतामा प्रतिस्पर्धा गर्न लगाउने विषयमा एकै ठाउँ आइपुगेका हुन्। उनीहरूलाई महामन्त्रीको उम्मेदवार बनाउन समर्थन गरेका शीर्ष नेताहरूको आग्रहविपरीत उनीहरू गगनको पक्षमा उभिएका हुन्।
विश्वप्रकाश निर्वाचनको बेलादेखि नै गगनलाई दलको नेता बनाउने पक्षमा उभिए पनि मीनेन्द्र रिजाल अन्तिम समयसम्म शेखर कोइरालालाई बनाउनु पर्ने पक्षमा थिए। यद्यपी उनी अहिले सांसद छैनन।
कृष्णप्रसाद सिटौला शेरबहादुर देउवालाई बनाउनु पर्ने अडानमा छन्। सिटौलाले अन्तिम समयसम्म पनि देउवालाई नै समर्थन गर्न प्रदीपलाई सम्झाएका थिए।
तर, प्रदीपले सिटौलाको प्रस्ताव अस्वीकार गर्दै आफूलाई गगनका पक्षमा उभ्याएका हुन्।
यसलाई कतिपयले महामन्त्री विश्वप्रकाश शर्माको कोइराला समूहमा भएको रि-इन्ट्रीको रूपमा बुझेका छन्। यद्यपि शर्मानिकट स्रोतले भने यस्तो निष्कर्ष निकाल्नु हतारो हुने बताएको छ।
‘झट्ट हेर्दा त्यस्तो देखिन्छ,’ उनीनिकट एक नेताले सेतोपाटीलाई भने, ‘यसलाई त्यसरी बुझ्नु हुँदैन। कांग्रेस रूपान्तरणका लागि शर्मा र अन्य युवा नेताहरू एकै ठाउँ उभिनुभएको हो। कांग्रेसको जीवनमा यसको अर्थ रहनेछ।’
कुनै बेला कोइराला समूहमै रहेका शर्मा उक्त समूहमा झापाली नेता कृष्णप्रसाद सिटौला निर्णायक हुन थालेपछि कोइराला समूहबाट बाहिरिएका थिए।
१३ औं महाधिवेशनमा उनी सभापति देउवाको पक्षमा खुलेका थिए। देउवाले उनलाई प्रवक्ता बनाएपछि उनी कांग्रेसमा रूपान्तरण अभियान चलाइरहेको युवा नेताहरूको समूहबाट अलग जस्तै थिए।
तर १४ औं महाधिवेशनमा देउवाले महामन्त्रीको उम्मेदवार बनाउन इन्कार गरेपछि शर्मा प्रकाशमान सिंह समूहको समर्थनमा महामन्त्री उम्मेदवार बनेर जित हात पार्न सफल भएका थिए। त्यसपछि भएको आमचुनाव अघि नै उनले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताएका थिए।
पार्टीमा पुस्तान्तरण र रूपान्तरणको वकालत गर्दै यी नेताहरू गगनलाई दलको नेता बनाउने मुद्दामा एकै ठाउँ उभिँदा कुनैबेला युवा नेताहरूको समूह संयोगले एकै ठाउँमा उभिन पुगेका छन्। यसअघि गगन, धनराज, विश्वप्रकाशसहितको समूह कांग्रेसमा बनेको थियो।
विश्वप्रकाश पार्टीको प्रवक्ता बनेपछि यो समूहबाट शर्मा अलगजस्तै भएका थिए।
संस्थापन इतर समूहबाट शेखर कोइरालाको प्रस्तावमा गगन थापा दलको नेताको उम्मेदवार बन्ने र प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने तयारी हुँदा पार्टी उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले थापाको उम्मेदवारीको समर्थन गरेका छन्।