काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेजको माग गर्दै रिट दर्ता भएको छ ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले बुधबार सर्वोच्चमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज माग गर्दै दुई वटा छुट्टाछुट्टै रिट दर्ता भएको जानकारी दिनुभयो ।
सिन्धुली घर भएका युवराज पौडेलले संवैधानिक इजलासमा दायर गर्नुभएको रिटमा लामिछानेको सांसद पद र रास्वपाको सभापति पद खारेज गर्न माग गरिएको छ ।
उक्त रिटमाथि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्ष बनाइएको छ ।