मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा तीन जोडी (श्रीमान्–श्रीमती) सांसदको प्रवेश भएको छ । दुई जोडी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट सांसद भएका हुन् भने एक जोडी सांसद भने प्रत्यक्षबाटै निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको सांसदको रूपमा प्रवेश भएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने आरजु समानुपातिकबाट सांसद बनेकी हुन् । आरजु २०७० सालमा पनि सांसद भएकी थिइन् भने सांसदको रूपमा यो उनको दोस्रो प्रवेश हो । देउवा भने सांसदका रूपमा सातौँ पटक प्रत्यक्ष निर्वाचित हुँदै संसद्मा प्रवेश गर्न लागेका हुन् ।
यसैगरी जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी–१ बाट प्रत्यक्षमा निर्वाचित भए । उनको पत्नी सुशीला श्रेष्ठ भने समानुपातिकमा सोही पार्टीबाट सांसद बनेकी छन् । प्रतिनिधिसभामा अशोक राई र सुशीलाको जोडी सांसदको रूपमा प्रवेश गर्ने भएका छन् । सुशील श्रेष्ठ प्राज्ञिक पृष्ठभूमिको महिला नेतृ हुन् ।
यसैगरी संसद्मा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठ नेतृ जुली महतो (महासेठ) को जोडी सांसदको रूपमा प्रवेश भएको छ । दुवै जना धनुषाबाट निर्वाचित भएका हुन् । जुली धनुषा ३ बाट लोसपाका नेता अनिल झालाई पराजित गर्दै सांसदमा निर्वाचित भएकी हुन् । यस्तै महासेठ कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै धनुषा ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।