नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले बैठकमा निर्वाचन परिणामको समीक्षालगायत नयाँ सरकार गठनबारे छलफल हुने जानकारी दिनुभयो ।
पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी बैठकमा सहभागी हुनुहुन्छ ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेस ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।
यस्तै, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गर्नुभएको छ ।