निर्वाचनका लागि चाहिने आवश्यक सामग्री लिएर कर्मचारी बिहीबारनै मतदानस्थलमा जानुपर्ने हुन्छ। बिहीबार बुझेको सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा लैजाने व्यवस्था रहेको छ।
मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरीपरी कुनै पनि प्रकारका मादकपदार्थ सेवन गर्न नपाइने सूचना टाँस गरेर बिक्री वितरणमा रोक लगाइने व्यवस्था रहेको आचार्यले जानकारी दिनुभयो।
चितवनको तीनवटै प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यालयबाट कर्मचारीले सामग्री बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख रितेन्द्र थापाले जानकारी दिनुभयो। मतदान केन्द्रमा सामग्री लैजाने भए पनि अन्य दिन भन्दा सुरक्षा व्यवस्था अझ मजबुद बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
तीन हजार छ सय ८० कर्मचारी परिचालन
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तीन हजार छ सय ८० कर्मचारी खटिने जानकारी दिनुभयो। निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन्। एक सय ६२ मतदानस्थल रहेको चितवनमा चार सय ६० केन्द्र तोकिएको छ।
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो। भयरहित निर्वाचन सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था मजबुत रहेको प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो।