मंसिर १ काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेका युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्ट रहेको भन्दै अब युवाको योग्यता र क्षमताको कदर हुने गरी नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान भिडियो सन्देशमार्फत् ०४६ सालको परिवर्तनपछि मुलुकले सामाजिक र आर्थिकरुपमा विकासको फड्को मारेपनि अझै धेरै कामहरू गर्न बाँकी रहेको स्मरण गरेका छन् ।
यो निर्वाचनमा शीर्ष नेताहरूविरुद्व देशभर युवाहरूले उम्मेदवारी दिएका छन् । युवाको उम्मेदवारी कतिपय शीर्ष नेताहरूकै लागि चुनौतीपूर्ण बनिरहेका बेला प्रधानमन्त्री देउवाले युवाको योग्यता र क्षमताको कदर गर्नुपर्ने बताएका हुन् ।
‘हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्ने छौं,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘हाम्रो शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त र दुरुस्त पार्ने परिपाटीको विकास गर्ने छौं ।’
प्रधानमन्त्री देउवाले सीमान्तकृत समुदायको हक अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको उत्थानमा नेपाली कांग्रेसको सरकारले महत्त्वपूर्ण कामहरू गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री देउवाले निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको आत्माकोरुपमा रहने व्याख्या गर्दै यस्तो ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हुने बताए । उनले यो निर्वाचनमा जारी हुने मतले अबको मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने बताए ।
‘नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक पार्टी हो, अब मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनु पनि कांग्रेसको जिम्मेदारी हो,’ देउवाले भनेका छन्, ‘निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्नेछ । दुई–दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै छ । सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको हो, त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन हामी प्रतिबद्ध छौँ ।’
प्रधानमन्त्री देउवाले आफूहरू कुरामात्रै गर्ने नभएर काम गर्ने नेतृत्व हो भनेर बुझ्न आग्रह गरेका छन् । ‘हामी कुरा होइन काम गछौं भन्ने तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा लिन सबै मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् ।