कात्तिक ३० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने चुनावमा धाँधली हुन नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सुनसरी क्षेत्र नम्बर–३ मा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मतदान शुरू भएपछि मतगणना नहुँदासम्म मत पेटिका आँखा अगाडि नै हुनुपर्ने बताए ।
‘चुनावमा धाँधली गर्न नदिनुहोस् यो मेरो आदेश हो । मत पेटिका हरेक क्षण आँखा अगाडि हुुनुपर्छ । मत पेटिका र मत जोगाउन जे जे गर्नुपर्छ त्यो गुर्नुहोस्’, ओलीले भने ।
सुनसरीबाट विजय गच्छदारले सधै धाँधली गरेर चुनाव जित्ने गरेको आरोप ओलीले लगाए । ‘विजय गच्छादारलाई भोट दिएर पठाउनुभयो भने उनको सपथ ग्रहण नै हुँदैन । मुद्दा लागेका व्यक्ति संसद भित्र पस्नै पाउँदैनन्’, ओलीले भने, ‘भगवती चौधरीलाई मत दिएर जिताएर पठाउनुहोस् । यो क्षेत्रको विकासको जिम्मा म लिन्छु ।’
मतपेटिका राखेको ठाउँमा झ्यालमा भर्याङ लगाउने, मत पेटिका साट्ने अवस्था आउन नदिन ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेका विजय गच्छदार र एमालेको उम्मेदवार भगवती चौधरी सुनसरी क्षेत्र नम्बर–३ मा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने सरकारले नागरिकताको समस्यामा एक महिनामा समाधान गर्ने ओलीले बताए ।
अहिले गठबन्धन सरकारले विदेशीलाई नागरिकता दिन खोजेकोले उनीहरूसँग एमालेले लडाईं लडिरहेको पनि ओलीले बताए ।
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानून ल्याउने उनले बताए ।