कात्तिक ३० पोखरा – कास्की- ३ का प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बराल कालो सूचीमा रहेको भन्दै बुधबार उजुरी परेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालो सूचीमा रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा बोधराज सुवेदीले उजुरी दिएका हुन् ।
कोषमा बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएकाले कालोसूचीमा रहेको उल्लेख छ । गण्डकी माछापुच्छ्रे सञ्चार सहकारीले तिर्नुपर्ने रकम समयमा नतिरेकाले कोषले कालो सूचीमा राखेको हो । बराल गण्डकी प्रदेशका अर्थ मन्त्रीसमेत हुन् ।
उजुरीमा निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) मा प्रचलित कानुन बमोजिम कालो सूचीमा रहेको अवधिभर उम्मेदवार हुन अयोग्य भएकाले कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
गण्डकी माछापुच्छ्रे सञ्चार सहकारीले तिर्नुपर्ने रकम नतिरेपछि २०७६ माघमा बराल सहित १५ जनालाई कालो सूचीमा राखेको थियो ।