काठमाडौं । निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ । मंगलबार आयोगले निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको हो ।
मंसिर ४ गते मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता र अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा खन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले सार्वजनिक आहृवान र अनुरोध गरेको छ । मंसिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।
चार बुँदे निर्देशन
(क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनका निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आहृवान र अनुरोध गर्ने ।
(ख) मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने ।
(ग) कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचित गर्ने ।
(घ) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने ।
मौन अवधिमा प्रचारप्रसार गरे कारबाही हुन्छ स् आयुक्त भण्डारी
निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई यस बारेमा पुनः सचेत गराएको हो ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताउनुभयो । उहाँले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । भण्डारीले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो । आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
विद्यालय र शिक्षण संस्था मंसिर २ देखि ५, सरकारी कार्यालयलाई मंसिर ४ र ५ गते बिदा
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चार दिन बिदा दिने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई चार दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थान र विद्यालयलाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय र सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।
‘आइतबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा २०७९ मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।