कार्तिक २८ काठमाडौं । दीक्षान्स खड्का,मकवानपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र अभिनेत्री मनिषा कोइराला मकवानपुर आउने भएका छन् ।
हेटौडा उपमहानगरपालिका १३ रमनथली पदमपोखरीमा पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुन अध्यक्ष लिङ्देन मकवानपुर आउन लागेका हुन। यो क्षेत्र स्थानीय तहको निर्वाचनमा राप्रपाले कम मत प्राप्त गरेको क्षेत्र हो । सभालाई मनिषा कोइराला, राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंह, बागमती प्रदेश सचिव एवं मकवानपुर क्षेत्र नम्बर १।ख प्रदेशसभा उम्मेदवार गुञ्जनबहादुर न्यौपाने,लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ तर्फ हेटौंडा उपमहानगरपालिकाका १५ वडासहित बागमती गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडा पर्छन् । सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय (डीना), नेकपा एमाले र राप्रपा नेपालका साझा उम्मेदवारको रूपमा कमल थापा पनि सोही क्षेत्रबाटै निर्वाचनको प्रतिस्पर्धामा छन् ।