कार्तिक २४ दमक । केपी ओली उम्मेदवार बनेको झापाको ५ नम्बर क्षेत्रमा माओवादी ठूलो चनौती बनेर उदाएको छ । यद्यपी, यो क्षेत्रमा केपी ओली विरुद्ध माओवादी आफैंले उम्मेदवारी दिएको छैन । गठवन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार बनेका छन् ।
केपी ओलीको वर्चश्व समाप्त पार्ने गरी दमकमा गगन पुरी उदाएका हुन् । उनले प्रदेश खबाट उम्मेदवारी दिएका छन् । आफूले चुनाव जितेमा पाँच वर्षभित्रमा झापाको ५ नम्बर क्षेत्रबाट कांग्रेस र एमालेलाई वडा सदस्यमा पनि उम्मेदवारी दिन नसक्ने अवस्थामा पुराउने गगनको भनाई छ ।
चुनाव प्रचारको क्रममा दमकको एक भेलामा नेता पुरी र कांग्रेसका केही कार्यकर्ता बीच विवाद भएर हात हालाहालको अवस्था उत्पन्न भएको थियो । त्यस लगत्तै नेता पुरीले माओवादी कार्यकर्ताको भेला बोलाएका थिए । भेलामा उनले कार्यकर्ताहरुलाई संयमित हुन आग्रह गर्दै अहिले कांग्रेसले गठवन्धनभित्र माओवादीलाई निरीह पारेको तर सहेर बस्नुको विकल्प नभएको बताए । उनको भनाई थियो– ‘मलाई जित्न दिनुस्, पाँच वर्षभित्र कांग्रेसलाई हाम्रो तलुवा चाट्ने बनाइदिन्छु । एमालेलाई सिध्याइदिन्छु ।’
गगनले माओवादी कार्यकर्ताहरुलाई पूरै उत्साहित बनाइरहेका छन् । दमकका एक माओवादी कार्यकर्ता भन्छन्-‘अहिले हामी उत्साहित छौं । यो चुनावपछि हामी यहाँ एमालेलाई सिध्याइदिने छौं ।’
कार्यकर्तालाई सक्रियतापूर्वक लाग्न निर्देशन दिँदै नेता पुरीले झापाको पाँच नम्बर क्षेत्रलाई नेमकिपाको भक्तपुर र माओवादीको रोल्पा जस्तो बनाएर देखाइदिने बताउनुभयो ।