कार्तिक २३ राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिताविपरीत लगाइएका प्रचार सामग्री हटाउन सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले प्रहरी परिचालन गरी आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सुरु गरेको हो ।
बुधबार बिहानदेखि राजविराजबाट आचारसंहिता विपरितका झण्डा,ब्यानर,पोस्टर,तोरण हटाउन सुरु गरिएको हो। बुधबार बिहान मुख्य वजार क्षेत्रमा हटाइएको छ भने भित्री क्षेत्र र ग्रामीण क्षेत्रमा समेत प्रहरी परिचालन गरी ती प्रचार सामग्री हटाउने कार्य सुरु गरिएको सप्तरीका एसपी अभिनारायण काफ्लेले जनाए ।
राजनैतिक दलका नेताहरुले सर्वदलीय बैठकमा आफूहरुले आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्धता जनाए पनि आचारसंहिताको उल्लंघन गर्दे प्रचार सामग्री सार्वजनिकस्थलहरुमा लगाएको थियो । आचारसंहिताको पूर्ण पालना गर्न दलहरुलाई आग्रह गरिएको र स्थानीय प्रशासन आचारसंहिता पालना गराउन क्रियाशील रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।