काठमाडौं । ललितपुरको मल्लकालीन ऐतिहासिक कात्तिक नाच सकिएको छ । हिजो बेलुकी कृष्णको दधि लीला देखाएर यसवर्षको कात्तिक नाच सकिएको हो ।
सोमबार कात्तिक नाचमा कृष्णको वस्त्रहरण लिला देखाएको थियो भने कात्तिक नाचको मुख्य आकर्षण नरसिहं अवतार आइतबार देखाएको थियो। आइतबार मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भीड लागेको थियो । कात्तिक नाच ललितपुरको मंगलबजारमा रहेकोे कात्तिक दबलीमा देखाइने गरिन्छ । यसवर्ष कात्तिक नाच १० दिनसम्म संचालन भएको थियो ।
कात्तिक नाचमा दिनैपिच्छै कृष्ण लिलामा आधारित फरक फरक नाचहरु देखाइने गरिन्छ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । कात्तिक नाचमा राजोपाध्याय , श्रेष्ठ , प्रधान , अमात्य, जोशी ,मल्ल लगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गर्दछ ।
नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गर्नु भएको हो । यस वर्ष यो नाच सञ्चालन भएको तीन सय ८२ वर्ष लागेको छ ।