आइतबार, वैशाख ८ गते २०८२

चुनावी अभियान : शीर्ष नेताको दौड सुदूरपश्चिम केन्द्रित

चुनावी अभियान : शीर्ष नेताको दौड सुदूरपश्चिम केन्द्रित

अखबार दैनिक
शुक्रबार, कात्तिक १८ २०७९
  • चुनावी अभियान : शीर्ष नेताको दौड सुदूरपश्चिम केन्द्रित

    कार्तिक १८ धनगढी । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन् । निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न खुला गरेको छ ।

    images

    आयोगको अनुमतिसँगै राजनीतिक दलले सुदूरपश्चिममा चुनावी सभा आयोजना गर्न थालेका हुन् । शीर्ष नेताको दौड पनि सुदूरपश्चिमतर्फ भएको छ ।

    चुनावी अभियानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगेका छन् । देउवा बुधबार र ओली बिहीबार धनगढी पुगेका हुन् । देउवा बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा व्यस्त छन् । कात्तिक २० गते सम्म डडेल्धुरामै बस्ने देउवाले जिल्लामा आयोजना हुने ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाहले बताए ।

    ओली आज दार्चुला पुग्दैछन्, जहाँबाट एमालेले चुनावी अभियान सुरु गर्दैछ । एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउने तयारी छ ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यका अनुसार आज हुने प्रदेशस्तरीय छलफलले अध्यक्ष प्रचण्डको आगमनबारे निर्णय लिनसक्नेछ ।

    एकीकृत समाजवादीले अछामबाट सभाको आयोजना गर्ने कार्यतालिका छ । एसका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार शनिबार अछामको साँफेबगरमा हुने चुनावी सभामा उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्नेछन् ।

    कैलाली, कञ्चनपुरमा हुने चुनावी सभामा अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको प्रदेश अध्यक्ष सिंहले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ