कात्तिक १५ काठमाण्डौं । निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ ।
चुनाव प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्तिको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहीता विपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरुले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताउनु भयो ।
सरकारी सम्पत्तिको प्रयोग नगरि चुनाव प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहे पनि साधनश्रोत प्रयोगलाई आचारसंहिताले रोकेको बताउनुभयो । उहाँले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले चुनावमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पत्तिको प्रयोग गर्न आचारसंहितामा नै रोकिएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्तिको दुरुपयोग गर्न पाइँदैन । सरकारी सम्पत्ति प्रयोग गरेर पार्टीको प्रचारप्रसार गर्न पाइँदैन । किनभने एउटा पार्टीको त्यहाँ निर्वाचित पदाधिकारीको हैसियतले त्यो सम्पत्तिको दुरुपयोग गर्दा सँगै प्रतिस्पर्धी अर्कोले त्यो सम्पत्ति त प्रयोग गर्न पाउँदैन । त्यसबाट वञ्चित हुन्छ । जसकारण समान र स्वच्छ स्तरको प्रतिस्पर्धा नै हुनसक्दैन । त्यसैले कसैले पनि सरकारी सम्पत्तिको दुरुपयोग गरेर प्रचारप्रसार गर्न पाउँदैन ।’
निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहिताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा चुनाव सम्पन्न गर्न सहयोग पुर्याउने विश्वास आयोगले लिएको बताउनुभयो ।