राणा शासनविरूद्ध क्रान्ति गर्दा नेपाली कांग्रेसमा चार जना नेता चर्चित थिए- बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमसेर जबरा र सूर्यप्रसाद उपाध्याय।
२००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भएर बनेको नेपाली कांग्रेसका यी चार नेता पञ्चायतकालसम्मै चर्चित भए। तीमध्ये बिपी कोइराला र गणेशमान सिंहको नाम आजपर्यन्त कांग्रेसीहरूका मुखमा झुन्डिरहन्छन्। उनीहरूको स्मृतिदिवस र जन्मदिवस कांग्रेसले धुमधामसँग मनाउँछ। तर सुवर्णशमसेर र सूर्यप्रसाद उपाध्यायलाई धेरैले बिर्सिएझैं देखिन्छ।
यी दुई जनामध्ये हामी यहाँ कुरा गर्दै छौं सूर्यप्रसाद उपाध्यायको।
उनलाई कतिपयले नेपालका 'चाणक्य' भन्थे भने कतिपयले रूचाउँदैनथे। यी दुवैथरी टिप्पणी त्यसै गरिएका होइनन्।
सूर्यप्रसाद सुरूदेखि नै विवादास्पद नेता थिए। भारत, राणा र राजासँगको सम्बन्धले उनलाई सधैं विवादमा तान्थ्यो।
उनी सिन्धुलीको ढुंगेल परिवारमा जन्मिएका थिए। उनका बुवा शंकरप्रसाद राणा प्रशासनका सुब्बा थिए। उनी हिरण्यशमसेर राणाको परिवारसँग नजिक थिए। हिरण्यशमसेर भनेका सुवर्णशमसेरका बुवा हुन्।
राणा प्रशासनमा सुब्बा भएकाले उपाध्याय परिवार हुनेखाने थियो। सिन्धुलीबाट बसाइँ सरेर उनीहरूले काठमाडौंको बालुवाटार, भाटभटेनीतिर घर बनाएका थिए। त्यहीँ १९७० सालमा सूर्यप्रसादको जन्म भयो।
सूर्यप्रसादले भारत गएर पढ्ने अवसर पाएका थिए। एमए, बिएल र बिटी गरेका उनी त्यतिखेर काठमाडौंमै धेरै पढेकामा गनिन्थे। उनले पढाइ सकेर वकालत गर्ने सोच बनाएका थिए। तर केही समयलाई घर आएका बेला राणाहरूले यतै बस्न बाध्य पारेको मदनमणि दीक्षितले उपाध्यायको स्मृतिग्रन्थमा लेखेका छन्।
दीक्षितले दरबार स्कुलमा पढ्दा नै उपाध्यायलाई पहिलोपटक चिनेका थिए।
'पढाइ सिध्याएर वकालत सुरू गर्नुभन्दा पहिले काठमाडौं आउनुभएका सूर्यप्रसाद उपाध्यायलाई घरानियाँ परिवारको उच्च शिक्षित युवकका रूपमा प्रतिभाशाली व्यक्ति ठहर्याएर राजनीतिमा नलागोस् भन्ने उद्देश्य राखी महाराज जुद्धशमसेरले इन्स्पेक्टर अफ स्कुल्समा नियुक्ति दिए र त्यसरी नेपालमै बस्न बाध्यजस्तै पारे,' दीक्षितले उक्त स्मृतिग्रन्थमा लेखेका छन्।
जुद्धशमसेरपछि पद्मशमसेर श्री ३ महाराज अर्थात् प्राइममिनिस्टर भए। उनी प्रजातन्त्र स्थापना हुनुपर्छ भन्नेमा नरम धारणा राख्ने राणा प्रधानमन्त्री थिए।
पद्मशमसेरले २००४ सालमा वैधानिक कानुन जारी गरेका थिए। उक्त कानुनले मौलिक हकहरूको व्यवस्था गरेको थियो। यो कानुन ल्याउन प्रेरित गर्नेमध्ये उपाध्याय पनि एक थिए भन्ने कतिपयको दाबी छ।
'साँच्चै नै उपाध्यायजीको प्रभाव सुवर्णशमसेरका जेठा पिता महाराज पद्मसमशेरमाथि थियो। पद्मशमसेरले जे जति उदारता देखाउन खोजे, त्यसका नेपाली प्रणेता र सुत्रधारहरूमा उहाँ एक हुनुहुन्थ्यो,' दीक्षितले लेखेका छन्।
वैधानिक कानुन जारी गरे पनि लागू गर्न नसकेपछि पद्मशमसेर भारत गए। उतैबाट राजीनामा पठाए। उनी भारत गएसँगै उपाध्यायलाई पनि यहाँ बस्न अप्ठ्यारो भएको देखिन्छ। यसबारे पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले उपाध्यायको स्मृतिग्रन्थमा लेखेका छन्, 'उहाँले शिक्षाक्षेत्रमा अत्यन्त राम्रो प्रभाव छाड्नुभयो। उहाँले त्यो जिम्मेवारी भने धेरै समय लिनुभएन। राणाहरूका बीचमै प्रजातान्त्रिकीकरणका लागि भूमिका खेल्न थालेपछि उहाँ रातारात कामाडौंबाट भाग्नुपर्यो।'
त्यसपछि सूर्यप्रसादले भारत गएर सुवर्णशमसेरसँग सम्पर्क बढाए। सुवर्णशमसेर प्रधानमन्त्री भीमशमसेरका नाति हुन्। चन्द्रशमसेरले राणाहरूको वर्ग विभाजन गरी ए, बी र सी बनाएका थिए। भीमसमशेरका छोरा हिरण्यशमसेर र उनका सन्तान 'सी' वर्गका राणा भए। प्रधानमन्त्री भएपछि जुद्धशमसेरले सी वर्गका राणाहरूलाई काठमाडौं उपत्यकाको चार भञ्ज्याङ कटाउने निर्णय गरे।
हिरण्यशमसेर र उनका छोरा सुवर्णशमसेरलाई वीरगन्ज पठाइएको थियो तर उनीहरू कलकत्ता पुगेका थिए। कलकत्ता पुगेपछि उनीहरूले सुरूमा धनसम्पत्ति जोडे। पछि उनीहरूले राणा शासनविरूद्ध सशस्त्र संघर्ष गर्ने तयारी गर्दै पार्टी खोले।
महेन्द्रविक्रम शाह र सुवर्णशमसेरले खोलेको प्रजातन्त्र कांग्रेसमा २००५ सालदेखि सूर्यप्रसाद पनि लागे। त्यो बेला बिपी कोइराला नेपाली राष्ट्रिय कांग्रेस पार्टी खोलेर भारतीय भूमिबाटै राणाविरोधी विभिन्न राजनीतिक गतिविधिमा संलग्न भए। सूर्यप्रसाद आफू पार्टीमा संलग्न भइसकेपछि यी दुई पार्टीबीच एकताको प्रयास गरे। उनकै पहलमा दुई कांग्रेसबीच एकता भएको कतिपय बताउँछन्।
२००६ सालमा उनले बिपीको पार्टीसँग आफ्नो पार्टी एकीकरण गराउन भूमिका खेलेका थिए र यही एकताबाट नेपाली कांग्रेसको जन्म भयो।
पार्टी एकीकरणपछि बिपी, गणेशमान, सुवर्ण र सूर्यप्रसाद गरी चार नेता चर्चित भए। यिनीहरूकै सहमतिमा पार्टीका महत्वपूर्ण निर्णयहरू हुन्थे।
राणा शासनविरूद्ध २००७ सालमा नेपाली कांग्रेसले सशस्त्र विद्रोह गर्ने निर्णय गर्यो। सूर्यप्रसादले उक्त विद्रोहमा पश्चिम नेपालको कमान्डर भएर नेतृत्व सम्हालेका थिए।
क्रान्तिपछि बनेको नयाँ सरकारमा बिपी गृहमन्त्री बनेका थिए तर सूर्यप्रसादलाई मन्त्री बनाइएन। बिपी सूर्यप्रसादलाई मन्त्री बनाउन चाहन्थेनन्।
मोहनशमसेर प्रधानमन्त्रीबाट हटेपछि कांग्रेस अध्यक्ष मातृकाप्रसाद कोइरालाले सरकारको नेतृत्व गरे। त्यो बेला भने सूर्यप्रसादलाई खाद्यमन्त्री बनाइयो।
बिपी र सूर्यप्रसादको सम्बन्ध त्यही बेलादेखि प्रेम र घृणाबीच अल्झिरहेको पाइन्छ।
बिपीको राजनीतिक व्यक्तित्व निकै उच्च थियो। सूर्यप्रसादसहित सबै उनलाई नेता मान्थे। उनको स्मृतिग्रन्थमा गुलाफशमसेर थापाले एउटा रमाइलो प्रसंग उल्लेख गरेका छन्।
सुवर्णशमसेरका बुवा हिरण्यशमसेरले सूर्यप्रसादसँग भनेछन्, 'हामीले क्रान्ति र पार्टीमा यति धेरै पैसा खर्च गरेका छौं, तिमीहरू तल पर्ने काम नगर्नू।'
त्यो सात सालपछिको कुरा थियो। बिपी गृहमन्त्री भइसकेका थिए अनि उनका दाजु प्रधानमन्त्री थिए। कोइरालाहरूको मात्र प्रभाव जमेकोमा हिरण्यलाई त्यति मन परेको रहेनछ।
हिरण्यशमसेरलाई सूर्यप्रसादले जवाफ दिएछन्, 'बल्ल त राणा शासन गएको छ। हामी नै किन अगाडि पर्ने? जनताको छोरालाई अघि बढ्न दिनु राम्रो हुन्छ। उनीहरू नै बनून् प्रधानमन्त्री।'
यति हुँदाहुँदै बिपी र सूर्यप्रसादको सम्बन्ध त्यति सहज र सरल देखिन्न। उनीहरू नियमित भेटघाट गर्थे। बिपी सूर्यप्रसादको घर गइरहन्थे, कहिले आराम गर्न, कहिले भेटघाट र छलफल गर्न। उनीहरू पार्टीका धेरैजसो काम मिलेरै गर्थे तर बिपीले सूर्यप्रसादलाई पूरै विश्वास गर्दैनथे। सूर्यप्रसादको सम्बन्ध भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग राम्रो थियो। बिपी सधैं यही सम्बन्धका कारण सूर्यप्रसादसँग सशंकित देखिन्छन्। त्यसमाथि सूर्यप्रसाद अलि पुरानो सोच राख्ने नेता थिए भने बिपी क्रान्तिकारी थिए।
दुवैको स्वभावले आफूमा कस्तो प्रभाव पर्यो भन्नेबारे कांग्रेस नेता अर्जुननरसिंह केसीले स्मृतिग्रन्थमा लेखेका छन्, 'निर्णय जनताबाट नै हुनुपर्छ भन्ने साहसिक पक्षका लागि म बिपीबाट प्रभावित छु। तर यो आन्तरिक सम्बन्ध, सन्तुलन, आफूसँग असहमतहरूसँग पनि सहमति खोज्ने, विवादहरूका बीचमा उभिएर मिलाइदिनेजस्ता मिहीन काममा चाहिँ सूर्यबाबुसँग प्रभावित छु।'
बिपी र सूर्यप्रसाद दुवै भारतमा पढ्दै त्यहाँको आन्दोलनबाट राजनीति सिकेका व्यक्ति हुन्। तर भारतका छुट्टाछुट्टै खेमाका नेताहरूको प्रभाव उनीहरूमा देखिन्छ।
सूर्यप्रसादले इलाहवाद विश्वविद्यालयमा पढ्दा तत्कालीन ब्रिटिस साम्राज्यविरूद्ध भारतीयहरूले गरेको स्वतन्त्रता संग्राममा भाग लिएका थिए। त्यही क्रममा उनी जेल परे। लखनउ जेलमा बस्दा उनको चिनजान गोविन्दवल्लभ पन्त र रफी अहमद किबलाई भन्ने नेताहरूसँग भयो। पन्त इन्डियाको पहिलो कृषि मन्त्री भए भने रफी अहमद बिहारका मुख्यमन्त्री भए। यी दुवै नेतासँग भारतीय कांग्रेसका नेता नेहरूको अत्यन्त नजदिकी सम्बन्ध थियो। पछि उनको भेट नेहरूसँग पनि भयो। यसबाट सूर्यप्रसाद र नेहरूको सम्बन्ध निकट रहेको देखिन्छ।
बिपी भने स्वतन्त्रता संग्राम बेला पटना जेलमा थिए। त्यसैले उनको जयप्रकाश लोहियाजस्ता भारतीय समाजवादीसँग संगत भयो। बिपीको सम्बन्ध नेहरूसँग पनि थियो। तर नेहरू जयप्रकाशलाई मन पराउँदैनथे। बिपी र नेहरूबीच एक किसिमको प्रतिस्पर्धा पनि थियो, इर्ष्या पनि थियो। जबकि सूर्यप्रसादसँग भने नेहरूको सम्बन्ध पारिवारिक स्तरको थियो।
यही कारणले पनि सूर्यप्रसादलाई बिपी झ्याप्पै विश्वास गरिहाल्दैनथे। बिपीले शंकाको नजरले हेरेपछि अरूले विश्वास गर्ने कुरै भएन।
यो अवस्था २००७ साल मात्र होइन, पञ्चायतकालसम्मै यस्तै रह्यो।
त्यही कुरा संकेत गर्दै सूर्यप्रसादको स्मृतिग्रन्थमा पूर्वसभामुख दमननाथ ढुंगाना लेख्छन्, 'दुई वर्ष भारतको जेलमा बस्दा उहाँको सम्बन्ध स्वतन्त्रता संग्रामका विशिष्ट व्यक्तित्व रफी अहमदसँग थियो। पछि नेहरूसँग पनि विस्तार भयो र भारतीय संस्थापनसँग उहाँ सदैव नजिक हुनुभयो। इन्दिरा गान्धीसँग दाजुबहिनीको जस्तो सम्बन्ध थियो। हाम्रा नेताहरूले पनि सूर्यबाबुको त्यो सम्बन्धलाई प्रयोग गर्न चाहने तर सधैं शंकाको घेरामा राखिराख्ने गरेको पाइयो।'
सूर्यप्रसाद २०१४ सालको महाधिवेशनमा कांग्रेस महामन्त्री भएका थिए। २०१५ को आमनिर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ र रामेछाप गरी दुई ठाउँबाट उठे।
काठमाडौंमा गोर्खा दल र केआई सिंहको दलका उम्मेदवारसँग उनको प्रतिस्पर्धा थियो भने रामेछापमा गोर्खा दलका गोरेबहादुर खपाङ्गीसँग प्रतिस्पर्धा थियो। दुवै ठाउँमा सूर्यप्रसादले हारे। सूर्यप्रसाद हार्नुमा पनि बिपीकै हात थियो भन्ने शंका धेरैले गरेका थिए।
गोर्खा दलका भरतशमसेर भने अर्कै तर्क प्रस्तुत गर्छन्। तत्कालीन गोर्खा दलका नेता भरतशमसेरले सूर्यप्रसादको स्मृतिग्रन्थमा लेखेका छन्, 'चुनावमा कांग्रेसका ठूला नेतालाई हराउने हाम्रो नीति थियो। त्यसका लागि जेसुकै रणनीति अपनाउने योजना थियो। पूरा काँठ हाम्रो प्रभाव क्षेत्र थियो, केआई सिंहको प्रभाव क्षेत्र थियो। हामीलाई सूर्यप्रसादलाई हराउनु थियो। मेरो केआई सिंहको पार्टीसँग सल्लाह भयो। उनीहरूले लोचनशमसेरलाई हराउने भए आफूले सहयोग गर्ने सल्लाह दिए। धेरैतिर कुरा मिलाएर हाम्रो पार्टीको उम्मेदवारी हटाइयो। हाम्रो भोट लोचनशमसेरलाई पर्यो र उनले चुनाव जिते। सूर्यबाबु हार्नुभयो।'
यसरी सूर्यप्रसाद पहिलो निर्वाचनमै हारे। हारे पनि बिपीले उनलाई गृहमन्त्री बनाएका थिए। बिपीको आफ्नै चाहनाभन्दा पनि नेहरूकै पार्टीको दबाबमा सूर्यप्रसादलाई गृहमन्त्री बनाइएको कतिपयले भन्ने गर्छन्। भारतले 'स्ट्रक्चरल ग्यारेन्टी' का लागि नेपालमा आफ्ना मान्छे भर्ती गर्न चाहन्छ भनेर बिपी भन्ने गर्थे। उनी सूर्यप्रसादको नियुक्तिलाई त्यसरी अर्थ्याउँथे।
२०१७ सालमा राजा महेन्द्रले पञ्चायत लागू गरेपछि नेपाली कांग्रेसका प्रभावशाली सबैजसो नेता जेल परे। प्रधानमन्त्री रहेका बिपी र गृहमन्त्री सूर्यप्रसादसमेत जेलमा परे। त्यतिखेर जेलमा परेका बिपीलाई राजा महेन्द्रले झन्डै ८ वर्ष जेलमा राखेका थिए भने सूर्यप्रसादलाई ९ महिनामै छाडिएको थियो। यति छिट्टै उनलाई राजाले छाड्नुमा पनि धेरैले शंकाकै दृष्टिले हेरे।
जेलमुक्त भएपछि सूर्यप्रसाद भारत गएनन्। उनी नेपालमै बसेर आफूले सक्नेजति संगठनको काम गरे।
सूर्यप्रसाद बाहिर निस्केर मैदानमा खटिने स्वभावका थिएनन्। बरू उनको अरू आन्तरिक व्यवस्थापनमा राम्रो दखल थियो। बिपी र गणेशमान थुनिए पनि सुवर्णशमसेर भागेर भारत पुगिसेका थिए। उनले त्यहीँबाट नेपाली कांग्रेस चलाए।
यता सूर्यप्रसादले भने आफ्ना साथीहरूलाई छुटाउन र राजालाई प्रजातन्त्रप्रति विश्वास दिलाउन आफ्नै हिसाबले काम थाले। सबभन्दा ठूलो कुरा त, उनले नेतृत्वविहीन तर कांग्रेसप्रति आस्था राख्ने युवा तथा विद्यार्थीहरूलाई ठूलो भर दिएको देखिन्छ।
त्यतिखेरका विद्यार्थीहरू आफूलाई केही परे भाटभटेनीस्थित सूर्यप्रसादकै घरमा जान्थे। तीमध्ये एक हुन्, अर्जुननरसिंह केसी। सूर्यप्रसादले आफूहरूलाई परेका बेला निकै सहयोग गरेको उनले स्मृतिग्रन्थमा लेखेका छन्।
'हामी स्वतन्त्र विद्यार्थी युनियन गठन गर्न पाउनुपर्छ भन्नेमा थियौं। त्यति बेला पार्टीको संगठन बाहिरबाट सुवर्णजीले सञ्चालन गर्नुहुन्थ्यो। यहाँ सारा विद्यार्थी र अरू युवाहरूको जे-जस्तो कार्यक्रम वा संगठन हुन्थ्यो, त्यो सबै सूर्यबाबुको रेखदेखमा थियो,' उनले लेखेका छन्, 'त्यो बेलाको विषम परिस्थितिमा पनि पत्रकार र बुद्धिजीविको मुख्य थलो त्यही थियो। सबैले कुनै न कुनै रूपले उहाँबाट सहयोग पाउँथे।'
त्यो बेलातिर सूर्यप्रसादको घरमा आउजाउ गरिरहनेमा पूर्वप्राध्यापक लोकराज बराल पनि एक हुन्।
'हामी सूर्यप्रसादजीको घरमा दिनहुँ पुग्थ्यौं। उहाँको घरमा पुग्दा चियाको मगमग बास्न आउँथ्यो। २०१७ सालपछि सबै नेताहरू जेल र निर्वासनमा थिए। सूर्यबाबु ९ महिनामै छुट्नुभयो। त्यसपछि उहाँको घर नेपाली कांग्रेसको आश्रयस्थल बनेको थियो। युवा विद्यार्थी र अन्य कार्यकर्ता त्यहीँ आउँथे। राजनीतिक बहस हुन्थ्यो। कार्यक्रम बन्थे,' उनले सम्झिए, 'एकपटक त दरबारले नै बोलाएर प्रश्न गरेको थियो रे, धेरै राजनीतिक गतिविधि भयो भनेर।'
बराल पनि बिपी र सूर्यप्रसादको सधैं 'लभ-हेट' को सम्बन्ध रहेको बताउँछन्।
'सूर्यप्रसादजी चाँडो जेलबाट छुट्नुभयो। राजा महेन्द्रको 'डिभाइड एन्ड रूल' को नीति पनि हो कि भन्ने लाग्थ्यो हामीलाई। उहाँ छुटेकोमा बिपीले शंकाकै नजरले हेर्नुभयो। उहाँलाई कसैले राणाले पठाएको भन्थे, कसैले भारत नजिक भन्थे,' बराल भन्छन्।
सूर्यप्रसाद विस्तारै राजा र राजनीतिक दललाई मिलाएर लैजाने रणनीतिमा लागे। यो कुरा अर्जुननरसिंह केसी, दमननाथ ढुंगाना लगायतले लेखेका छन्।
तर राजासँग मेलमिलापको नीति त्यतिखेर कार्यान्वयन हुन सकेन।
बिपी लगायतलाई जेलबाट छुटाउन सूर्यप्रसादले राम्रो भूमिका नखेलेको कोइरालाहरूको बुझाइ थियो। तर पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले स्मृतिग्रन्थमा लेखेअनुसार सूर्यप्रसादले आफ्ना साथीहरूलाई छुटाउन त्यति बेला कसरत गरेका थिए। उनले यो पनि लेखेका छन्, 'सूर्यप्रसादले चाहेका भए जुनसुकै ठूलो पद पनि राजाले उनलाई दिन सक्थे।'
पञ्चायतकालमा सूर्यप्रसादले कृषि संगठनको चौवन्नी सदस्यता लिएको विषय निकै विवादमा पर्यो। राजासँग मिलेको दरबारिया भएको आरोपसमेत उनलाई लाग्ने गर्छ। पूर्वप्रधानमन्त्री थापाले भने सूर्यप्रसादले आफ्ना साथीहरूलाई छुटाउन उक्त सदस्यता लिएको स्मृतिग्रन्थमा लेखेका छन्।
उनका अनुसार राजबन्दीलाई छुटाउने वा नछुटाउने विषय पञ्चायतभित्र बहसको विषय थियो।
'उहाँले साथीहरूलाई छुटाउन कारागारमुक्त गराउन धेरै सोचेरै किसान संगठनको सदस्यता लिने कठोर निर्णय लिनुभयो। त्यो सदस्यतापत्र लिएर म स्वयं गएको थिएँ। बिपी, गणेशमान नछुटिकन विकसित राजनीतिको कुनै अर्थ रहँदैन भन्ने सूर्यबाबुको धारणा थियो। त्यही चौवन्नी सदस्यताका आधारमा सूर्यबाबुले दरबारलाई विश्वासमा लिनुभयो र नेपाली कांग्रेसका राजबन्दीहरू छुट्न थाले,' उनले लेखेका छन्।
बिपी, गणेशमानलाई छुटाउन सूर्यप्रसादले राजा महेन्द्रसँग धेरै छलफल गरेको र उनीहरू छुट्ने बेलाको रोचक प्रसंग पनि उनले स्मृतिग्रन्थमा लेखेका छन्।
त्यो समय राजा महेन्द्र लन्डन जाने कुरा थियो। लन्डन गएर फर्केपछि के होला भनेर बिपी छुटाउने विषयमा चाँडै छलफल व्यवस्था मिलाउन सूर्यप्रसादले पहल गरे। उनको राजासँग भेट भयो। राजा महेन्द्र अफिसमा बसिराखेका बेला सूर्यप्रसाद र सूर्यबहादुर गए।
'ल भन,' राजाले सोधे।
सूर्यप्रसादले बिपी र आफूबीच भएको कुरा राजालाई बताए। राजा त्यो कुराबाट आश्वस्त भएनन्।
लन्डनबाट फर्केपछि विचार गरौंला भन्ने भावमा राजा महेन्द्रले कुरा राखे। आफ्नो कुरा स्पष्ट भनिदेओस् भनेर महेन्द्र सूर्यबहादुरतिर फर्किए।
'के गर्ने त पिएम?' राजाले सोधे।
'छोड्नुपर्छ सरकार,' सूर्यबहादुरले भने।
यो सुनेर राजाको मुखै बदलिएको र कान रातो भएको सूर्यबहादुरले उल्लेख गरेका छन्।
'रिस र आवेग थियो, चेहरामा एकछिन चकमन्न भो। तिम्रो विचार यही त हो त पिएम भन्ने हुकुम भयो,' उनले लेखेका छन्, 'मैले हो सरकार भनेँ।'
एकछिनपछि सूर्यप्रसादलाई राजाले सोधे, 'ल भन, सूर्यप्रसाद तिमी बिपीको जिम्मा लिन्छौ?'
सूर्यप्रसादले एकछिन पनि नरोकिई तुरून्तै भने, 'सरकार जिम्मा म लिन्छु।'
त्यसपछि शेरबहादुर मल्ललाई बोलाएर सूर्यप्रसादले भनेबमोजिम काम गर्नू भनेर राजाले आदेश दिए।
सूर्यबहादुरका अनुसार बिपी र गणेशमानको रिहाइ त्यसै गरिएको थिएन। 'राजालाई मुलुक प्रजातान्त्रिकीकरणतर्फ लग्नुपर्छ भन्ने थियो, किनकि पञ्चायतको प्रयोग भइसकेको थियो। सूर्यबाबुले पञ्चायतलाई प्रजातान्त्रिकीकरण गर्नेतर्फ मुलुकभित्रै बसेर सहयोग गर्नुभएको थियो। राजालाई बिपी पनि कमसेकम एक वर्ष नेपालभित्रै सामान्य राजनीतिक गतिविधि गरेर बसून्, प्रवास नजाऊन् भन्ने थियो,' उनले लेखेका छन्।
यसरी बिपी र गणेशमान एक वर्षसम्म नेपालभित्रै बस्ने सर्तमा रिहा भएका थिए। तर उनीहरूले रिहा भएपछि त्यो सर्त मानेनन्।
यता सूर्यप्रसादलाई पनि बिपीले सिआइडीको आरोप लगाएका छन्।
पूर्वप्राध्यापक बराल भन्छन्, 'बिपीले पहिलेदेखि नै सूर्यप्रसादजीलाई शंकाको दृष्टिले हेर्नुभयो। पछि पनि आत्मवृत्तान्तमा सिआइडी, दरबारमुखी आदिआदि लेख्नुभएकै छ। सूर्यप्रसादले हामीलाई नेगेटिभ गर्छन् भन्ने भनाइ बिपीको हुन्थ्यो। हाम्रो मुभमेन्टलाई ब्रेक गर्छन् भन्ने गर्नुहुन्थ्यो।'
पूर्वसभामुख ढुंगाना पनि सूर्यप्रसादले देशभित्रै संघर्ष गरेर प्रजातन्त्र फर्काउन चाहेको बताउँछन्। अर्कातिर मेलमिलाप नीतिको सुरूआत गरेको पनि उनैले हो भन्ने ढुंगानाको मत छ।
'बिपीहरू छुटेपछि सूर्यबाबु नेपालमै बसेर प्रजातान्त्रिकीकरणतर्फ लाग्नुभयो भने बिपीले हतियार उठाउनुभयो। हतियारको राजनीतिले बिपीलाई झन् अप्ठ्यारोमा पार्यो। अन्तत: उहाँ २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो। त्यो मेलमिलापको जग पनि सूर्यबाबुको २०१९ सालको मेलमलापको नीतिमै उभिएको थियो,' उपाध्यायको स्मृतिग्रन्थमा उनले लेखेका छन्।
बिपी मेलमिलापको नीति लिएर स्वदेश फर्किँदा सूर्यप्रसाद पहिलेजस्तो पार्टीमा सक्रिय थिएनन्।
'पहिले चार शिखर नेता थिए। उनीहरूकै सक्रियता र निर्णयमा पार्टीका काम हुन्थे। त्यसलाई २०१७ सालको घटनाले पर्खाल खडा गरिदियो। २०१७ सालमा छिट्टै छुटे पनि त्यसपछि सूर्यबाबुले आफ्ना राजनीतिक गतिविधिहरू आफ्नै घरबाट चलाउनुभयो। २०३६ सालमा पनि उहाँले बहुदलको पक्षमा भोट हाल्न आफ्नै किसिमले वक्तव्य निकाल्नुभएको थियो,' ढुंगानाले भने, 'प्रजातन्त्रका लागि जीवनभर काम गरे पनि उहाँलाई बिपी लगायत धेरैले गलत बुझे।'
कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद मुटु र मधुमेहबाट ग्रस्त थिए। २०४१ सालमा उपचारकै क्रममा उनको मृत्यु भयो।
सूर्यप्रसाद उपाध्यायसँग नजिक भएर काम गरेकाहरू कांग्रेसले उनलाई चटक्कै बिर्सन नहुने बताउँछन्।