बिहीबार , वैशाख २० गते २०८१

प्रधानमन्त्री देउवालाई ओलीको सन्देश : अध्यादेश जारी र खारेजी दुवै असंवैधानिक

प्रधानमन्त्री देउवालाई ओलीको सन्देश : अध्यादेश जारी र खारेजी दुवै असंवैधानिक

अखबार दैनिक
मंगलबार, असोज १२ २०७८
  • प्रधानमन्त्री देउवालाई ओलीको सन्देश : अध्यादेश जारी र खारेजी दुवै असंवैधानिक

    काठमाडौँ, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी दुवै कुरा गैरकानुनी र असंवैधानिक रहेको सन्देश पठाएका छन् ।

    images

    मंगलबार बिहान आफूलाई भेट्न बालाकोट आएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो सन्देश पठाएका हुन् ।

    ओलीले गैरसंवैधानिक बाटोबाट ल्याइएको अध्यादेश फेरि त्यस्तै बाटोबाट खारेज गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले कार्कीसँगको भेटमा अध्यादेश ल्याउने र खारेज गर्ने बाटोलाई गैरकानुनी संज्ञा दिएका छन् ।

    ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले सार्वजनिक गरेको प्रेस नोट हेर्नुहोस्

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग आज भएको भेटमा उहाँ मार्फत प्रधानमन्त्रीलाई पठाउनु भएको सन्देश :

    सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।

    चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।

    अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

    संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसदमा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।

    यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार