मंगलबार, मंसिर ११ गते २०८१

पोखराको विश्व शान्ती जैविक विविधता उद्यानमा अब वन्यजन्तु हेर्न पनि पाईने

पोखराको विश्व शान्ती जैविक विविधता उद्यानमा अब वन्यजन्तु हेर्न पनि पाईने

अखबार दैनिक
मंगलबार, जेठ ११ २०७८
  • पोखराको विश्व शान्ती जैविक विविधता उद्यानमा अब वन्यजन्तु हेर्न पनि पाईने
     
    पोखरा
    पर्यटकीय नगरी पोखराको विश्वशान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ ।
    फेवाताल किनारास्थित फेवा सव डिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री विकास लम्सालले आज एक जोडी रतुवा मृग छोड्नु भएको हो ।
    तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ बर्षको पोथी र लगभग सात बर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रवाट ल्याइएको हो ।
    डिभिजन वन कार्यालय कास्कीले १८ लाख रुपैयाको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो ।
    वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहनुभएका लम्सालले प्रदेश भित्रका बिभिन्न दुर्लभ जिवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरि व्यवस्थित गर्दै लगिने जानकारी दिनुभयो ।
    उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यसका लागि सम्वद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।विभिन्न कारणले घाईते वन्यजन्तुको उपचारका लागि उचित व्यवस्था नहुँदा मर्न सक्ने र लोप भएर जाने सम्भावना भएकाले वन्यजन्तुको संरक्षणका लागी “प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ” उहाँले भन्नुभयो “अव प्राणी उद्धार केन्द्रमा उपचार गरिएका बन्यजन्तु बाहिर नपठाई प्रदेश भित्रै व्यवस्थापन गरिने छ ।”
    मुलुकका सामुदायिक वन समुहलाई समेत बिभिन्न बन्यजन्तुको प्रजनन स्थलका रुपमा विकास गरिने तयारी भई रहेको बताउँदै उहाँले वन्यजन्तुलाई घेरा भित्र नभई प्राकृतिक रुपमै प्रजनन तथा हुर्कने वातावरण बनाउँदै वन वातावरणको संरक्षणसंगै पर्यापर्यटन विकासमा जोड दिइने बताउनुभयो ।
    घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उपचार तथा हेरचाह गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिएको हो । फेवा सव डिभिजन वन कार्यालयको परिसरमा रहेको उक्त उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढंगले गर्ने र निको भएपछि पुनः जंगलमा छोड्ने गरी व्यवस्था गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
    यहाँ राखिएका वन्यजन्तुको हेरचाह फेवा सव डिभिजन कार्यालयका सशस्त्र वन रक्षक तथा कर्मचारीहरुले गर्नेछन् ।
    प्रदेश सरकारले वन्यजन्तु उद्दारको लागि यस अघि पोखरा पचभैयामा प्राणी उद्यान केन्द्र सञ्चालन गरिसकेको छ भने तनहुँमा भानु प्राणी उद्यान स्थापनाको काम भईरहेको छ । वन्यजन्तु उद्धार केन्द्र जंगली जनावर हेर्न चाहाने पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ ।
    पर्यटकहरुको पहिलो रोजाई पोखरा रहेको र यहाँ आउने पर्यटकहरुले प्रसिद्ध विश्व शान्ती जैविक विविधतामा राखिएको जंगली जनावर हेर्न पाउनेछन् । पोखरा फेवाताल नजिकै रहेको उक्त उद्यान जनावर हेर्न चाहनेहरुको लागि आकर्षक गन्तव्य बन्ने आशा गरिएको छ । यसले पर्यटकहरुको बसाई लम्ब्याउन मद्दत गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार